मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी जारी प्रथम भेट्रान्स भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । केशवलाल श्रेष्ठ प्रतिष्टान मकवानपुरकाे आयोजनमा भएकाे भेट्रान्समा शुक्रबार भएकाे क्वार्टरफाइनलका खेल समाप्तीसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो ।
शुक्रबारकाे खेलबाट मकवानपुरगढी गाउँपालिका, नारायणी कलेज, भीमफेदी गाउँपालिका र हेटौंडा १९ फाइनल प्रवेश गरेका हुन् । शनिबार हुने प्रतियाेगिताकाे सेमिफाइनल खेलमा मकवानपुरगढी गाउँपालिकाले नारायणी कलेजसँग र भीमफेदी गाउँपालिकाले हेटौंडा १९ सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।
शुक्रबारकाे राक्सिराङ गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाबीचको क्वाटरफाइनल खेलमा मकवानपुरगढी गाउँपालिका विजयी भएको छ । राक्सिराङलाई २५–२१ र २५–२२ को सोझो सेटले पराजित गर्दै मकवानपुरगढी सेमिफाइनल प्रवेश गरेको हो । यसैगरी शुक्रबार नै भएको दोस्रो क्वाटरफाइनल खेलमा नारायणी कलेज विजयी भएको छ । बकैयाँ गाउँपालिकालाई २५–१० र २५–८ को सोझो सेटले पाखा लगाउँदै नारायणी कलेज सेमिफाइनल प्रवेश गरेको हो ।
तेस्रो खेलमा भीमफेदी गाउँपालिका विजयी भएको छ । थाहा नगरपालिकालाई २५–२३, २२–२५ र १५–८ को सेटमा पराजित गर्दै भीमफेदी गाउँपालिका सेमिफाइनल प्रवेश गरेको हो । शुक्रबारकाे अन्तिम क्वाटरफाइनल खेलमा हेटौंडा १९ विजयी भएको छ । छहारी युवा सेवा समाजलाई २५–२३ र २५–२३ को सोझो सेटले पराजित गर्दै हेटौंडा १९ सेमिफाइनल प्रवेश गरेको हो ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौंडाको आयोजनामा भएको प्रतियोगितामा ११ टिमले सहभागिता जनाएका छन्। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ, दोस्रो हुने टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ्न । प्रतियोगितामा उत्कृष्ट सेटर, स्पाईकर र खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका बसन्त कुमार सिटौलाले जानकारी दिए ।

