मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी तेस्रो राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधीको लागि पूर्वेली भेट्रान्स क्लब झापा र फ्रिडम फाइटर भेट्रान्स काठमाडौ भिड्ने भएका छन् ।
रोटरी मकवानपुरको आयोजनामा भएकाे प्रतियाेगिताकाे सोमबारकाे दोस्राे सेमिफाइनल खेलमा सर्लाहीको हरिवन भेट्रान्सलाई १०–० गोल अन्तरले पराजित गर्दै फ्रिडम फाइटरले फाइनलमा पूर्वेली भेट्रान्ससँगकाे भेट पक्का गरेको हो । फ्रिडमको लागि विकर्ण श्रेष्ठले ४ गोल, निलेन्द्र देवालने ३ गोल, राजु तामाङ्, कृष्ण मालाकार र राजकुमार घिसिङले १/१ गोल गरे । खेलको म्यान अफ द म्याच विकर्ण श्रेष्ठ घोषित भए ।
यसैगरी आइतबारकाे पहिलाे सेमिफाइन खेलमा नव जनजागृति भेट्रान्स सिमरालाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वेली भेट्रान्स फाइनल प्रवेश गरेको थियो । १५ टिमले सहभागिता जनाएकाे प्रतियाेगिताकाे फाइनल मंगलबार हुनेछ ।
जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगकाे लागि आयोजना गरिएकाे प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाासहित ट्रफी प्राप्त गर्ने छन् ।
रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता संचालन भएकाे थियाे । हेटौंडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।

