मकवानपुर । मकवानपुरकाे हेटौडामा आज साेमबारबाट तेस्रो रोटरी मकवानपुर पिप्ले-क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएकाे छ । रोटरी क्लब अफ मकवानपुरकाे आयोजनामा हुने प्रतियोगितामा १५ टिमले भाग लिनेछन्।
हेटौंडा-५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने यस प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता चितवन भेट्रान्स र नागस्वती भेट्रान्स हेटौंडाबीच प्रतिस्पर्धा हुनेछ आयोजकले पत्रकार भेटघाट गरी जनाएकाे छ । प्रतियोगितामा चितवन र नागस्वतीसहित हेटौंडा भेट्रान्स क्लब, आयोजकको रोटरी पिप्ले भेट्रान्स, सिमरा भेट्रान्स, नव जनजागृति भेट्रान्स सिमरा, वीरगन्ज एकेडेमी भेट्रान्स, युनिटी भेट्रान्स वीरगन्ज, निजगढ भेट्रान्स, हरिवन भेट्रान्स, पुर्वेली भेट्रान्स क्लब झापा, एस.एन.के.सी काठमाडौँ, फ्रिडम फाइटर काठमाडौँ, अभिषेक चर्च नवलपरासी र पोखरा भेट्रान्सको सहभागिता रहने छ ।
प्रतियोगितामा ४० वर्षमाथिका खेलाडीहरूले सहभागिता जनाउनेछन्। भदौ ३१ गतेसम्म चल्ने यस प्रतियोगितामा विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्ने रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालले जानकारी दिए । उनका अनुसार सर्वोत्कृष्ट प्रशिक्षकले १० हजार रुपैँया, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, सर्वोत्कृष्ट डिफेन्स सर्वोत्कृष्ट मिडफिल्डर तथा सर्वोत्कृष्ट फरवार्डले जनही ५/५ हजार रुपैंया प्राप्त गर्ने छन् ।
स्वास्थ्यको लागी खेलकुद भन्ने नाराको साथ रोटरी क्लव अफ मकवानपुरको आयोजनामा सर्व प्रथम २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरेकाे थियाे । हेटौडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।
जलन प्राथमिक उपचार केन्द्र निर्माण अभियानलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको संयोजक माेहन ढकालले जानकारी दिए । उनका अनुसार आठ वर्षपछि सामाजिक एवम् मानवीय सहयोगको साथसाथै खेलकुदमा पनि रोटरी भन्ने रोटरी इन्टरनेशनलको नारालाई आत्मसाथ गर्दै रोटरी क्लव अफ मकवानपुरको जलन प्राथमिक उपचार केन्द्र आगोले पोलेकोहरुको तत्काल स्वास्थ्य उपचार गर्ने निर्माण अभियानलाई पनि सहयोगकाे लागि तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगीता आयोजना गर्न लागिएकाे हाे ।
पिप्ले युवा क्लब सहआयोजक र रोट्र्याक क्लब अफ मकवानपुरको सहकार्य हुने प्रतियाेगिताकाे मुख्य प्रायोजक हेटौडा उपमहानगरपालिका र सह प्रायोजक हेटौडा स्कूल अफ म्यानेजमेन्ट रहेकाे प्रतियाेगितामा करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेकाे छ।

