मकवानपुर । मकवानपुरकाे हेटौडा सोमबारबाट सुरु तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा चितवन भेट्रान्सले विजय सुरुवात गरेकाे छ ।
रोटरी क्लव अफ मकवानपुरको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडाको नागस्वती भेट्रान्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउादै साविक विजेता चितवन विजयी भएको हो । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएकाे खेलकाे निर्धारित समयमा दुवै टोलीबाट एक/एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएकाे थियो । नेपालका १५ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले गरेकी हुन् ।
भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी सर्वोत्कृष्ट प्रशिक्षकले १० हजार, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, सर्वोत्कृष्ट डिफेन्स सर्वोत्कृष्ट मिडफिल्डर तथा सर्वोत्कृष्ट फरवार्डले जनही ५/५ हजार रुपैंया प्राप्त गर्ने छन् ।
जलन प्राथमिक उपचार केन्द्र निर्माण अभियानलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएकाे संयोजक माेहन ढकालले जानकारी दिए । उनका अनुसार आठ वर्षपछि सामाजिक एवम् मानवीय सहयोगको साथसाथै खेलकुदमा पनि रोटरी भन्ने नारालाई आत्मसाथ गर्दै रोटरी क्लव अफ मकवानपुरको जलन प्राथमिक उपचार केन्द्र निर्माणलाई सहयोगकाे लागि प्रतियोगीता आयोजना गरेकाे हाे ।
प्रतियोगीताका लागि करिब १६ लाख रुपैयाँ खर्च हुने आयोजक बताएको छ । स्वास्थ्यको लागी खेलकुद भन्ने नाराको साथ रोटरी क्लव अफ मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरेकाे थियाे । हेटौडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।

