मकवानपुर । मकवानपुरकाे हेटौडामा रहेकाे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतकाे हेटौंडा अस्पतालले विस्तारित बहिरंग सेवा सञ्चालन गर्ने भएको छ ।
अस्पतालमा बढ्दो बिरामीको चापलाई ध्यानमा राखि अस्पतालले हरेक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म विशेषज्ञ सहितको स्वास्थ्य सेवा उपलब्ध गराउन विस्तारित सेवा सुरु गरिने शुक्रबार पत्रकार भेटघाट गरी जानकारी दिएको छ ।
१६ भदौ आइतबारबाट अस्पतालले २ घण्टा अतिरिक्त सेवा प्रदान गर्ने भएकाे हाे । ‘अतिरिक्त बहिरंग सेवाका लागि बिरामीले चौबिसै घण्टा टिकट काट्न सकिने छ’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले भने ‘यो सेवामा स्वास्थ्य बिमा भने लागू हुने छैन् ।
अस्पतालले शनिबारबाहेक हरेक दिन साँझ ४ देखि ६ बजेसम्म जनरल मेडिसिन सेवा, स्त्री तथा प्रसुती विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नशा तथा हाडजोर्नी विशेषज्ञ सेवा, जनरल सर्जरी, मनोरोग (मानसिक) सेवा र भिडियो एक्सरे सेवा उपलब्ध गराउने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाईंले बताए ।
विस्तारित सेवाका लागि चिकित्सक शुल्क पाँच सय निर्धारण गरिएको छ । ल्याब परीक्षण, औषधि शुल्क भने साविक बमाेजिम नै प्रदान गरिने अस्पतालले जनाएकाे छ । बिस्तारित बहिरंग सेवामा बिरामीले डाक्टर रोजेर जँचाउन सक्नेछन् । जसको लागि अस्पताल प्रशासनले एक हप्तासम्म उपलब्ध हुने विशेषज्ञ डाक्टरहरुको सूची दिनेछ ।
अस्पताल प्रशासनका अनुसार हाल दैनिक एक हजारले अस्पतालको ओपिडीबाट सेवा लिइरहेका छन् ।

