मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा शुक्रबारबाट सुरु जिल्ला लिग फुटबल प्रतियोगितामा डाँफे क्लबले विजयी सुरुवात गरेकाे छ । शुक्रबार भएको उद्घाटन खेलमा साविक विजेता डाँफेले महावीर क्लव हेटौंडालाई ७–० को गोलले पराजित गरेकाे हाे ।
डाँफेकाे जीतमा सुशान्त तामाङले दुई तथा अभिषेक बल तामाङ, निश्चल थापा, रितेश श्रेष्ठ, बोधकुमार वाइबा र राजिव डिमडुङले समान एक/एक गोल गरे । खेलको म्यान अफ द म्याच डाँफेका सुशान्त लामा घोषित भए । १५ भदौमा ४ खेल हुने छन् । सक्षम युवा क्लव र हेटौंडा भेट्रान्स, आरआर एफसी र एफसी इन्टरनेट, परेली युवा क्लव र विजय यूथ तथा गोर्खा ब्वाइज क्लव र एफसी ईन्टरनेट सिटीको बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
लिगको विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन गरिएकाे हाे ।
प्रत्येक समूहको पहिलो, दोस्रो र तेस्रो हुने क्लव ए, चौथो र पाँचौ हुने क्लव वी, तथा छैठौं र सातौं हुने क्लव सी श्रेणीमा रहने जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।

