मकवानपुर । बागमती प्रदेशका चार जिल्लामा भएकाे विभिन्न घटनामा परी पाँच जनाको मृत्यु भएको छ । चितवन, सिन्धुली, धादिङमा एक/एक जना तथा काभ्रेमा दुई जना गरी पाँच जनाको मृत्यु भएको बागमती प्रदेश प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
बिहीबार चितवनको कालिका नगरपालिका–१० स्थित पाईमराङमा चट्याङ लागेर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय दिल बहादुर प्रजा रहेका छन् । प्रहरीका अनुसार बिहीबार चट्याङ लागेर प्रजाको घरमै मृत्यु भएको हो ।
यस्तै बिहीबार नै सिन्धुलीको कमलामाई नगरपालिका–६ मा सुतेकाे अवस्थामा एक जनाकाे मृत्यु भएको छ । दुधौली नगरपालिका–३ स्थित झुंगा घर भई हाल कमलामाईमा डेरामा बस्दै आएकी ३५ वर्षीया जानुका माझी सुतेको अवस्थामा मृत भेटिएको हो । माझीलाई अचेत अवस्थामा देखेपछि तत्काल जिल्ला अस्पताल सिन्धुली लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यसैगरी धादिङको नेत्रावति डबजोङ गाउँपालिका–१ मा एक जना घर नजिकैकाे सडकमा मृत फेला परेका छन् । १ महिनादेखि घरमा एक्लै बस्दै आएको स्थानीय ५१ वर्षीय हरी बहादुर अधिकारी घर नजिकैको सडकमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
काभ्रेकाे भुम्लु गाउँपालिका १ अरनिको राजमार्ग सडक खण्डमा काठमाडौंबाट बाह्रबिसे जादै गरेको बा २ ख ९०६४ नं.को बसले ठक्कर दिँदा एक जानकाे मृत्यु भएकाे छ । नामथर,वतन नखुलेको बाटोमा मागी खादै हिड्ने अन्दाजी ४०/४५ वर्षकी महिलालाई उक्त बसले बिहीबार ठक्कर दिदाँ घाईते भएकी थिइन् । उनलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकाेमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । बस चालक बलेफी ८ का राम बहादुर तामाङ र बस प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
यस्तै काभ्रेको नमोबुद्ध नगरपालिका–६ मा एक बालिका मृत अवस्थामा भेटिएकी छिन् । १३ वर्षीया खुसी न्यौपाने मृत अवस्था भेटिएकी हुन् । न्यौपाने हराएको खबर बिहीबार प्रहरी चौकी कटुन्जेवेशीलाई भएकाेमा प्रहरी टोली र आफन्तहरुले खोजतलास गर्दै जाँदा दाप्चा खोलाको दहमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

