मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ढुङ्गा लागेर एक स्कुले बालिकाको मृत्यु भएकाे छ।
बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बिहीबार बाटो माथिबाट खसेको ढुंगाले लागेर एक बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बिहीबार विद्यालयबाट घर फर्किदै गरेकी हिरालाल थिङको छोरी १० वर्षीया बालिका सुष्मा थिङलाई ढुङगाले लागेर ज्यान गएको हाे ।
उनकाे शव परिवारले लगेको भन्ने जानकारी वडा अध्यक्ष फुलबहादुर भोम्जन मार्फत प्राप्त भएकाे प्रहरीले बताएकाे छ । उनी बकैया गाउँपालिका–६ साततलेस्थित जनश्रम आधारभूत विद्यालयमा २ कक्षामा अध्ययनरत छात्रा भएको बुझिएको छ।
इलाका प्रहरी कार्यालय फापरबारीका टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

