मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका २ बनस्खण्डी देवी सामुदायिक बन उपभोक्ता समितिको प्राङ्गणमा शुक्रबारबाट श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ ।
बनस्खण्डी सामुदायिक वनका अध्यक्ष भवसागर श्रेष्ठको सभाध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा महायज्ञको उद्घाटन गरिएको हो ।
महायज्ञको उद्घाटन गर्दै नेता बानियाँले हेटौंडाको मुटुमा रहेको बनस्खण्डी वन क्षेत्रभित्र रहेको राधाकृष्ण मन्दिरको विस्तार र विकास गर्दै यस क्षेत्रलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विस्तार गरिने बताए । नेपालमा विभिन्न धर्म संस्कृति र जातिजातिको विशेष बाहुल्य रहेको बताउँदै नेता बानियाँले महायज्ञमा उपस्थित भई कथा श्रवण गरी आफ्नो आर्थिक स्थिति हेरी सकेको दान गर्न आग्रह गरे । ‘हामी सबै मिलेर यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन लाग्नुपर्छ’ उनले भने ।
महायज्ञ उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, कथा बाचक पण्डित कपिलदेव भट्ट, उपबाचक पण्डित टेकनाथ ढकाल, बनस्खण्डी वन उपभोक्ता समितिकी सचिव लक्ष्मी तिमल्सिना गौतमलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
भदौं १३ गतेसम्म संचालन हुने महायज्ञमा उठेको रकमबाट राधाकृष्ण मन्दिरको बिस्तार, ब्यवस्थापन तथा अक्षयकोष स्थापना गर्ने उदेश्य रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

