मकवानपुर । सामुदायिक विद्यालय माध्यमिक तहस्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्योति माध्यमिक विद्यालय प्रथम भएको छ ।
नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगितामा हेटौंडा–१८ स्थित ज्योति माविका सलिना सुवेदी, शान्ती गोले र समिप घिमिरेको समुह प्रथम भएको हो । त्यसैगरी, हेटौंडा–१७ को बालबोध माविका श्रृष्टि भुजेल,स्मृति तिमल्सिना र सकृना पुडासैनीको समुह द्वितीय भए । त्यस्तै हेटौंडा–१६ को जनप्रिय माविका रामकृष्ण आचार्य, एरिना चौलागाई र कौस्तुभ सुवेदीको समुह तृतीय भएका थिए ।
विजेता समूहले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा हेटौंडा नगरका २१ वटा सामुदायिक विद्यालयको सहभगागिता रहेको थिए ।
कार्यक्रममा हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाले यस्ता प्रतियोगिता विद्यार्थीको समग्र विकासमा महत्त्वपूर्ण भूमिका हुने बताए । शैक्षिक समन्वय समिति अतिरिक्त क्रियाकलाप संयोजक बालकुमार श्रेष्ठले प्रतियोगिताले विद्यार्थीहरूको व्यक्तित्व, सामाजिक र बौद्धिक विकासमा योगदान र्पुयाउनुका साथै उनीहरूलाई आफ्नो ज्ञान र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताए । ‘यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउदै र उनीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्न मद्दत पुर्याउँछ’ उनले भने ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख सीताराम कोईराला, शिक्षा अधिकृत हरिचन्द्र सापकोटा , जनप्रिय मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन वस्ताकोटी, प्रधानाध्यापक भुपेन्द्र चौलागाईले सहभागी विद्यालय र विद्यार्थीहरूको सहभागिताको प्रशंसा गर्दै यस्ता कार्यक्रमको निरन्तरताले भविष्यमा स्थानीय शैक्षिक वातावरणलाई थप सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरे।
समन्वय समिति अध्यक्ष भोगेन्द्र लुईटेलको सभाध्यक्षतामा भएको प्रतियोगिता हेटौंडा १६ का वडा अध्यक्ष एवम् सामाजिक विकास समिति प्रमुख कोईरालाको प्रमुख आतिथ्यतामा भएको हो ।
समिति उपाध्यक्ष प्रतिमा गौतमले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव जनकप्रसाद घिमिरेले गरेका थिए।

