मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा लगाइएको ताला खुलेको छ । गाउँपालिका र ताला लगाउने दलहरु बिच १० बुँदे सहमतिपछि ताला खुलेको हो ।
मंगलबार भएको छलफलपछि पालिकामा आइतबारदेखि लागेको ताला खोल्ने लगायतका १० बुदें सहमति भएको छ । शिक्षा, स्वास्थ्यसम्बन्धी निर्णय गर्दा शिक्षा समिति, सामाजिक विकास समितिबाट भएका निर्णयलाई कार्यपालिकाबाट कार्यान्वयन गराउने, कारवाही स्वरूप प्रअको लिइएको राजिनामा फिर्ता हुने र शिक्षा प्रमुखसँग स्पष्ट लिने, सवारी साधन र इन्धनको आवश्यकता अनुसार मात्र प्रयोग गर्न गराउने सहमति भएकाे छ ।
यसैगरी बिमा र निः शुल्क प्राप्त हुने औषधी सम्पूर्ण स्वास्थ्य संस्थाको हकमा यथाशीघ्र उपलब्ध हुने गरी व्यवस्था मिलाउने, स्वास्थ्यमा देखिएको कर्मचारीको समस्या कार्यपालिकाबाट निर्णय गराई कार्यन्वयन गराउने, वन तथा वातावरण समितिलाई क्रियाशील गराउने, कर्मचारी नियुक्ति गर्दा नियम अनुसार गर्ने, गाउँपालिकाभित्र पर्ने फास्ट ट्रयाक र गिटी बालुवाको कडाइका साथ अनुगमन गर्ने, पालिकाबाट भएका निर्णयप्रति आएको जनगुनासोलाई सम्बन्धित पक्षसँग छलफल गरी समाधान गर्दै जाने सहमति भएको छ ।
छलफलमा गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, राजनीतिक दलको तर्फबाट नेकपा एमालेका नारायणप्रसाद तिमल्सिना र गोपाल दाहाल, नेकपा माओवादी केन्द्रका जीवन गोले र बिमल नेपाल, रास्वपाबाट अमर दंगाल र छोटेलाल जिम्बा, एकिकृत समाजवादीबाट प्रकाश बस्नेत र नेकपा (बहुमत) प्रल्हाद गौतम लगायतको सहभागिता थियो ।
२ भदोमा ५ राजनीतिक दलले गाउँपालिका अध्यक्ष लामिछाने मनोमानी ढङ्गले चलेको भन्दै तालाबन्दी गरेका थिए ।
र यो पनि
बकैया गाउँपालिका कार्यालयमा तालाबन्दी

