मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने मनोमानी ढङ्गले चलेको भन्दै आइतबार कार्यालयमा तालाबन्दी गरिएको हाे ।
गाउँपालिकामा अनियमितता बढेको विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गर्दासमेत अध्यक्ष लामिछाने आफूखुसी एकलैटी गरेकाेले गाउँपालिकामा क्रियाशील ५ राजनीतिक दलले तालाबन्दी गरेकाे हाे । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नेकपा बहुमत, रास्वपा लगायतका ५ राजनैतिक दलले आइतबार कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन्।
५ दलले आइतबार एक विज्ञप्ति जारी गर्दै यसअघि पालिकामा बुझाइएकाे ज्ञापनपत्रमा विभिन्न विषय उल्लेख गरिएकाे जनाएकाे छ । विज्ञप्तिममा शिक्षक तथा कर्मचारीहरुलाई नियम विपरित सरुवा गरेको,प्रध्यानाध्यापकलाई दबाब दिएर राजीनामा गर्न लगाएकाे, विद्यालयहरुमा विषयगत शिक्षक नपठाएको, विद्यार्थीको अनुपातमा शिक्षक नियुक्ति नगरेको, कार्यरत शिक्षकलाई विस्थापित गर्नेगरि शिक्षक थप गरेको, सरकारी सवारी साधनको दुरुपयोग भएको, कृषिमा दिएको अनुदानमा पारदर्शिता नभएको, योजना सम्पन्न भएको महिनौं समयसम्म समेत भुक्तानी नपाएको,राजस्व संकलनमा पारदर्शिता नभएको लगायतका विषयमा वेवास्ता गरेको भन्दै तालबन्दी गरेका हुन् ।
अध्यक्षले छलफल र समन्वय नै नगरी मनलाग्दी गर्न लागेपछि आफूहरुले बाध्य भएर तालाबन्दी गर्नुपरेको जनाएकाे ५ राजनैतिक दलले विज्ञप्ति मार्फत अराजक क्रियाकलाप नसच्याए थप कडा आन्दोलनको चेतावनी समेत दिएका छन्। केही दिन अघि गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले पालिका अध्यक्ष लामिछानेले स्वास्थ्य शाखाका कर्मचारीकाे जिम्मेवारी हेरफेरमा एकलौटी गरेको भन्दै तालाबन्दी गरेका थिए।


