मकवानपुर । मकवानपुरकाे हेटौडामा मंगलबार गाईजात्रा पर्व मनाईएको छ । विशेष गरी नेवारी समुदायले मनाउने गाइजात्रा सामूहिक रुपमा निकालिएको हाे ।
नेवा सांस्कृतिक पुचः हेटौंडाले आयोजना गरेकाे समूहिक गाईजात्रा लाखे नाचसहित हेटौंडाको कृष्ण मन्दिरबाट निकालिएको थियो । हेटौंडाका ३६ र मकवानपुरका अन्य स्थानबाट ६ गरी ४२ परिवारले सामूहिक रुपमा गाईजात्रा निकालेका थिए ।
वर्षभरीमा दिवंगत भएकाहरुको सम्झनामा मानिसलाई गाईका रूपमा सिंगारी नगर परिक्रममा गर्ने गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि दिंवगत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन गाईजात्रा पर्व मनाइने गरिन्छ । त्यसपछिकाे अष्टमीसम्म परम्परागत सांस्कृतिक पर्वका अन्य जात्रा मनाउने गरिदै आएकाे पाइन्छ ।
गाईजात्रा पर्वका अवसरमा नेपाल सरकारले काठमाडौं उपत्यकामा हरेक वर्ष सार्वजनिक विदा दिदै आएकाे छ । यस वर्ष बागमती प्रदेश सरकारले पहिलो पटक प्रदेश भर गाइजात्रामा सार्वजनिक बिदा दिइएको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई दुनियाँ पनि यस्तै शोकमा रहन्छन् भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आदेशा दिएकाेले यो पर्व शुरु भएको इतिहास पाइन्छ ।
गाइजात्रा मात्रैले पनि रानी शोकबाट मुक्त हुन नसकेपछि विभिन्न प्रकारका व्यंग्यात्मक कार्यक्रम समेत गराउन आदेश दिएपछि हास्यव्यंग्यको चलन शुरु भएको भनाई रहेकाे छ ।


