काठमाडौ । जुनू घिमिरेको कवितासङ्ग्रह प्रदीप्त मन सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा कवि तथा नाटककार अशेष मल्ल, कवि डा.नवराज लम्साल, कवि समालोचक शैलेन्दुप्रकाश नेपाल र छन्द कवि डा.देवी नेपालले संयुक्त रुपमा कवितासङ्ग्रहको लोकार्पण गरेका हुन् ।
अशेष मल्लले घिमिरेको कवितामा समयको स्वर रहेको बताए । उनका कविता सरल छन् तर वोधगम्य छन् । डा.नवराज लम्सालले घिमिरेको कविता राम्रो बनाउने नाममा अस्पस्टता र क्लिष्टता नभएको बताए । शैलेन्दुप्रकाश नेपालले इमानदारीपूर्वक कविता कोरेकी जुनूको शब्द समायोजनको पक्ष सुन्दर रहेको बताए । डा.देवी नेपालले सकारात्मक सोच नै कविताको विशेषता रहेको बताउँदै उठान र अन्त्य अझै सशक्त भएको बताए ।
कार्यक्रम कविहरू निर्जाला लम्साल, रचना दहाल र सुशील शर्माले प्रदीप्त मन भित्रबाट केही कविताहरू वाचन गरेका थिए । ४३ वटा कविता समेटिएको प्रदीप्त मन घिमिरेको दोस्रो कविता संग्रह हो । उनको यसअघि पसिनाको घर २०८० प्रकाशित छ ।
कवितासङ्ग्रह प्रदीप्त मनलाई जुपिटर पब्लिकेसन्सले प्रकाशित गरेको हो ।

