मकवानपुर । मकवानपुरे साहित्यकार तुलसी घिमिरेको गजल सङ्ग्रह ‘घामका फूलहरू’ शनिबार हेटौंडामा विमाेचन गरिएको छ ।
गजल मञ्च मकवानपुरको २१५ औँ गजल यात्रामा घिमिरेद्वारा लिखित गजल सङ्ग्रह विमोचन गरिएको हो । मञ्चका अध्यक्ष केशव समर्पण, मकवानपुरका शिक्षासेवी देव श्रेष्ठ, सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिललगायतले पुस्तककाे लाेकार्पण गरेका हुन् ।
गजल मञ्च मकवानपुरले प्रकाशन गरेकाे सङ्ग्रहमाथि समीक्षक घनश्याम घिमिरेले टिप्पणी गरेका थिए । घिमिरेले घामका फूलहरूको समीक्षा गर्दै पाकाे उमेरका लेखकले युवाको जस्तै जोश जाँगर सहितको गजल लेखेको बताए । लेखक घिमिरेले आफ्ना जीवनमा अनुभूत गरेका, देखेका विषयलाई गजलमार्फत सचित्र वर्णन गर्न सफल भएको उनको भनाई थियो ।
कार्यक्रममा साहित्यकार स्वस्तिका दाहाल, सञ्जित श्रेष्ठ, हरि पाैड्याललगायतले घिमिरेद्वारा लिखित गजल सङ्ग्रहबाट गजल वाचन गरेका थिए ।
गजल सङ्ग्रहकाे रुपमा घिमिरेकाे पहिलाे कृति हाे । सङ्ग्रहमा ७० वटा गजल समेटिएका छन् । २०११ फागुन १५ गते बर्माको होम्लिनमा जन्मिएका लेखक घिमिरेका यसअघि फूलका कुरा जूनका कुरा गीत सङ्ग्रह २०७१ र माटोको मोह कविता सङ्ग्रह २०८० प्रकाशित छ ।
२१५ ओैं गजल यात्रामा गजलकारहरु मुस्कान तिमल्सिना, मिथिला अधिकारी, डिबी वर्ताैलालगायतले गजल वाचन गरेका थिए ।

