मकवानपुर । कवि निमेष निखिल ‘लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य सम्मान’ बाट सम्मानित हुने भएका छन् । नेपाल भाषा खलः मकवानपुरले वर्ष २०८१ का लागि निखिललाई उक्त सम्मानद्वारा सम्मानित गर्ने भएको हो ।
यसअघि उक्त सम्मान दाना कविताका पहिलो सर्जक तुल्सी थापा (हाल स्वर्गीय) लाई प्रदान गरिएको थियो । लोककविको ११३औँ जन्मजयन्ती अवसरमा साउन ५ गते पुरस्कार प्रदान गरिने खल:ले जनाएको छ ।
मकवानपुरे साहित्यकार तथा प्राध्यापक निखिलका ‘मनहरूको परिसर’, ‘उमेरको नदी’ र ‘शोकगीतको पोस्टमार्टम’ गरी कूल ३ कृतिहरू प्रकाशित छन् ।
यसैगरी संस्थाले हरेक वर्ष कविता प्रतियोगिता समेत गर्दै आइरहेको छ । लोककवि श्रेष्ठको जन्मजयन्तीको अवसरमा हुने कविता प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार, तृतीय हुनेले ५ हजार र सान्त्वना हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
मकवानपुरको भीमफेदीमा वि.सं. १९६८ मा जन्मिएका गणेशलाल श्रेष्ठ कवि, सङ्गीतकार तथा समाजिक अभियान्ता थिए । नेपाली भाषाका साथसाथै नेपाल (नेवारी) र तामाङ भाषामा समेत साहित्य सिर्जना गर्ने सक्ने श्रेष्ठका ‘मेरा दुई पुष्पाञ्जली’, निफ्वः स्वाँ, लोकह्वागु म्ये मुना लगायतका गीति सङ्ग्रह प्रकाशनमा रहेका छन् ।
श्रेष्ठ मकवानपुरे माटोमा पहिलो कविता लेख्ने तथा साहित्यकृती प्रकाशित गर्ने व्यक्ती हुन् ।

