मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीकाे विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको पार्टीले जनाएकाे छ ।
राप्रपाले प्रदेशमा अब बन्ने काङ्ग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्ने वा नगर्ने विषयमा निर्णय नभइसकेकाे संसदीय दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए । प्रदेश सभामा राप्रपाकाे १२ सांसद छन् । मुख्यमन्त्री जम्कट्टेलले आइतबार अपराह्न १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने बताइएकाे छ ।
संघीय सरकारको सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारमा पनि फेरबदल हुने छ । संघीय सरकारमा माओवादी केन्द्रको नेतृत्वकाे सरकार संसदबाट अल्पमतमा परेपछि सरकार परिवर्तन भइसकेको छ । यसैगरी बागमती प्रदेशमा माओवादी केन्द्रका जम्कट्टेल नेतृत्वको सरकार छाडेर नेकपा एमालेले समर्थन फिर्ता लिएको २ हप्तापछि उनले विश्वासकाे मत लिने भएका हुन् ।
जम्कट्टेलले प्रदेश सभाकाे फेस गर्ने भएपनि अंकगणित अनुसार विश्वासको मत पाउने छैन । विश्वासकाे मतमा उनी अल्पमतमा परेसँगै नयाँ सरकार गठनकाे बाटो खुल्नेछ ।
७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेश सभाकाे ठुलो दल कांग्रेसकाे ३७ र दोस्राे ठुलाे दल एमालेकाे २७ सांसद छन् । माओवादी केन्द्रकाे २१ सांसद रहँदा एकीकृत समाजवादीकाे ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
