मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले अबैध मदिरा तथा लागु औषध नियन्त्रणकाे सवालमा हरेक नागरिकले आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । हेटौडामा भएकाे प्रदेशस्तरीय अवैध मदिरा तथा लागू औषध नियन्त्रण सम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘हिजाेकाे समाजकाे चेतना, आवश्यकता र आजकाे समाजकाे चेतना र आवश्यकता फरक छ’ मन्त्री श्रेष्ठले भने ‘साेही अनुरुप कानून परिमार्जन र निर्माण गरिनुपर्ने तर हामी अझैसम्म लागु औषध नियन्त्रण ऐन २०३१ मै टेकेर हिडिरहेका छाै ।’ नेपालमा १२४ भाषाभाषीकाे र १४२ जातजातिकाे बसाेबास रहेकाेले घरेलु मदिरा कतिपयकाे संस्कारकाे विषय हुने भएकाेले परम्परागत रैथाने घरेलु मदिरालाई कसरी औषधीकाे रुपमा प्रयाेग गर्न सकिन्छ त्यस तर्फ समेत ध्यान दिनुपर्ने उनले बताए ।
‘लागु औषध नियन्त्रण ऐन २०३१ लाई संघीय संसदलले परिमार्जन र संशाेधन नगरेसम्म प्रदेश सरकारले केही गर्न सक्दैन’ उनले भने ‘लागू औषध गाजा र घरेलु मदिरालाई राष्ट्रिय अर्थतन्त्रसंग जाेडेर हेरिनुपर्छ ।’ लागुऔषध सम्बन्धमा उपदेश दिने र लजाउने बिषय मात्र हैन यस्काे न्युनिकरणका लागि घरपरिवारबाट सुरुवात गर्नुपर्छ उनले भने । किशाेर किशाेरीलाई लागु औषधकाे कुलतमा नपरुन भनेर घरपरिवार र विद्यालयले निगरानी गर्ने बताउँदै उनले भने ‘विद्यालय तहकाे पाठ्यक्रममा समेत लागु औषध सम्बन्धी विषय समावेश गरिनुपर्छ ।’
प्रदेश सरकारले लागु औषध नियन्त्रणकाे काम गर्दै आइरहेकाेमा स्थानीय तहले समेत यसकाे नियन्त्रणमा पहल गर्नु पर्ने उनले बताए । ‘लागु औषध प्रयाेगकर्ता, काराेवार हुने स्थानमा थप आधुनिक प्रविधि सहित नियन्त्रणकाे प्रयास गरिनु पर्छ’ उनले भने । लागुपदार्थ दुर्व्यसनीकाे संख्या बढ्दैं जादाँ समाजमा विकाराल अवस्था आउन सक्ने भएकाेले उसबाट व्यक्ति, परिवार, समाज र मुलुकलाई नै मुक्त गराउनु पर्ने उनले बताए ।
लागु औषध कारोबारमा २१६ जना पक्राउ
मकवानपुरमा लागु औषध कारोबारमा संलग्न रहेका २१६ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय हेटौडाका अनुसार मकवानपुर जिल्लामा २०८० साउनदेखि २०८१ जेठ मसान्तसम्ममा लागु औषध कारोबारमा १९१ जना पुरुष र २५ जना महिला पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा विदेशी नागरिक २१ जना पुरुष र २ जना महिला समेत रहेका प्रदेश प्रहरीकाे तथ्याङ्कले देखाउँछ । यसैगरी उक्त अवधीमा लागु औषध सम्बन्धी १४८ वटा मुद्दा दर्ता भएकाे छ ।
नेपाल सरकार गृहमन्त्रालयले वेब साइडमा सार्वजनिक गरेको रिपोर्ट अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ गरिएको थियो । त्यो बेला ८ हजार ७३२ महिला सहित १ लाख ३० हजार ४३४ जना लागुऔषध प्रयोगकर्ता रहेको देखिन्छ । यस अघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार ५३४ जना प्रयोगकर्ता थिए । वार्षिक वृद्धिदर ५ दशमलब ०६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयको तथ्याङ्क अनुसार हाल बागमती प्रदेशमा मात्रै कुल ४० हजार ८५५ पुरुष, ५ हजार ६२५ महिला गरी जम्मा ४६ हजार ८८० जना छन् । जसमा धुवाँबाट सेवन गर्नेहरु सबैभन्दा बढी ३५ प्रतिशत छन् । यस बाहेक मुखबाट खाएर नाकले सुँघेर र सुइबाट समेत लिने गर्दछन् ।
मन्त्रालयका अनुसार हाल नेपालमा लागुऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई दुर्व्यसनबाट छुटाई समाजमा पुनर्स्थापना गर्न नेपालभर २४० भन्दा बढी उपचार तथा पुनर्स्थापना केन्द्रहरू संचालनमा रहेका छन । लागुऔषधको प्रयोगबाट प्रयोगकर्ताहरूमा हेपाटाइटिस बी/सी, क्षयरोग, एच.आई.भि./एड्स, एस.टि.डी., कुपोषणलगायत विभिन्न स्वास्थ्य समस्या देखापर्दछन् । त्यसैगरी लागुऔषधको सेवनबाटै व्यक्तिको अकालमा ज्यानै पनि जाने गर्दछ ।
लागू औषध गाँजाजन्य पदार्थ (Cannabis) सेवनकर्ता ८०.४%, डाईजेपाम (Diazepam) प्रयाेगकर्ता ९.४%, अफिमजन्य पदार्थ (Oplates) प्रयाेगकर्ता ४.७%, ट्रामाडोल (Tramadol) प्रयाेगकर्ता १.९%, प्रिग्यावलिन (Pregabalin) प्रयाेगकर्ता १.९%, सुध्ने पदार्थ (Inhalants) प्रयाेगकर्ता १.८% रहेकाे तथ्यांकले देखाएकाे ।
लागु औषध र लागु औषधकाे काराेबार नियन्त्रणमा लागू औषध र लागू औषधको कारोबार दुवैको मात्रामा आएको विस्तार र विविधिकरण, लागू औषध र मनोद्विपक पद्धार्थहरूको दुरूपयोग, अवैध खेती, उत्पादन, लागू औषधसम्बन्धी गैरकानूनी गतिविधिमा सूचना तथा सञ्चार प्रविधिको आपराधिक दुरूपयोगमा वृद्धि, सिन्थेटिक ओपियड्स र प्रेस्किप्सन बमोजिमका औषधीको गैर चिकित्सकीय प्रयोग, लागू औषधको अवैध कारोबारबाट उत्पन्न अवैध मुद्रा निर्मलीकरण, अवैध रुपमा नयाँ नयाँ प्रकारका मनोद्दीपक पदार्थहरुको उपलब्धता हुनु, लागू औषध अपराधमा संलग्न कारोबारीहरुको अपराधिक कार्यविधि एंव शैलीमा परिवर्तन हुनु, खर्चिलो सूचना व्यवस्थापन विधि र बजेटको सिमितता हुनु लगायतका चुनाैति रहेकाे पाइएकाे ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरको आयोजनामा भएकाे प्रदेशस्तरीय अवैध मदिरा तथा लागू औषध नियन्त्रण सम्बन्धी कार्यक्रममा यस्ताे तथ्याङ्क सार्वजनिक गरिएकाे हाे ।

