मकवानपुर । तालीम लिने तर व्यवहारमा नल्याउने परिपाटीको अन्त्य गर्ने उपप्रमुख राजेश बानियाँले आग्रह गरेका छन् । तालिममा सहभागी हुने तर, व्यवसाय नगर्ने, नगरपालिकाको लगानी मात्रै खेर जाने भएकाेले नगरपालिकाले यस्ताे लगानी नगर्ने उनले बताए ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र हेटौंडा उपमहानगरपालिका रोजगार शाखाको सहयोगमा हेडम्वा डेपलपमेन्ट एडभाइजरद्वारा संचालित काठको ठेकी बनाउने ३० दिने तालिममा उनले यस्तो बताएका हुन् ।
महिलालाई उद्यम बनाउन, बजार र अर्थसंग जोड्नको लागि दिइएको तालिमलाई ‘टाइमपास’को रुपमा नलिन उपप्रमुख बानियाँले आग्रह गरे ।
‘तालिमलाई व्यवहारमा उतार्न, व्यवसायिक बनाउन अनुदान समेत दिंदा पनि गरिबी घटेन भने के काम’ उनले भने । तालिम लिएकाहरुले आपसमा समूह बनाएर बजारलाई उत्कृष्ट बनाउन उनले आग्रह गरे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख कार्यकारी अधिकृत सुर्यप्रसाद गौतमले सानो वा ठूलो जस्तो व्यवसाय भए पनि लगाव निरन्तर हुनुपर्ने बताए ।
कार्यक्रममा हेउमनपा सामाजिक विकास महाशाखाका भिम तिमल्सिना, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, सदस्य रामबहादुर राई, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुब अधिकारी, रोजगार शाखा संयोजक बिजन श्रेष्ठलगायतको सहभागीता रहेको हेडम्वा डेपलपमेन्ट एडभाइजरका अध्यक्ष अनन्त बानियाँले बताए ।
२० जनाको सहभागीता रहेको तालिममा मकवानपुर थाहानगरपालिका वडा ७ का राम बहादुर सुनारले प्रशिक्षण दिएका थिए ।


