मकवानपुर । नेपाली राजनीतिमा ३-४ महिनाकाे अन्तरालमा सत्ता समिकरण बदलिएपछि त्यसकाे असर सरकारकाे नेतृत्व गरिरहेकाे दल तथा सत्ता साझेदार दलमा समेत पर्ने गरेकाे छ ।
पछिल्लाे पटक २२ फागुन २०८० मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेससँगकाे समिकरण ताेडी नेकपा एमालेसँग सत्ता समिकरण गरेका थिए । माओवादीसँगकाे सत्ता समिकरणबाट अलग भई एमाले र काँग्रेसकाे नयाँ समिकरण गत सोमबार मध्यरातमा भएपछि यसले राजनीतिमा नयाँ तरङ्ग पैदा गरेकाे छ । एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता र सरकारमा सहभागी मन्त्रीले राजिनामा बुझाएका छन् ।
सरकार समर्थित कुनै एक दलले समर्थन फिर्ता लिए स्वतः अल्पमतमा सरकार पर्ने भएकाेले उसले कि त संसदमा विश्वासकाे मत लिनु पर्छ कि राजिनामा दिनु पर्छ । तर प्रधानमन्त्री प्रचण्डले संसदकाे फेस गर्ने भएका छन् । असार २८ गते विश्वासकाे मतकाे प्रस्ताव संसदमा पेश गर्ने छन् । विश्वासकाे मत प्राप्त नभए उनी स्वतः पद मुक्त हुने छन् । सत्ता समिकरणकाे फेरबदलकाे असर प्रदेश सरकारमा समेत देखिएकाे छ । लुम्विनिमा नयाँ मुख्यमन्त्री चयनकाे प्रक्रियाकाे लागि प्रदेश प्रमुख समक्ष लेखि पठाइएकाे छ ।
जनता समाजवादी पार्टीले समेत प्रचण्ड सरकारलाई दिएकाे समर्थन फिर्ता लिदै सरकारमा सहभागी मन्त्रीले राजिनामा बुझाएका छन् । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेश सरकारमा पनि त्यसले असर पर्ने भएकाे छ । काँग्रेस र एमाले बीच गत सोमबार भएकाे सहमती अनुसार बागमतीमा काँग्रेसकाे नेतृत्वमा सरकार गठन हुने छ । हाल नेकपा माओवादी केन्द्रकाे नेतृत्वमा एमालेसहितका दलकाे सरकार छ । तर एमालेबाट बागमतीमा सहभागी मन्त्रीहरु राजिनामा बुझाउने तयारीमा छन् । बागमती प्रदेश सरकार ढल्ने निश्चित भएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौडा बाहिर गएकाे बुझिएकाे छ ।
नयाँ समीकरण अनुसार केन्द्रमा सरकार निर्माणको तयारी थालिएसँगै माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारकाे समेत आयु गणना सुरु भएकाे छ । ३ पटकसम्म विश्वासको मत लिएर १८ महिनासम्म सरकार टिकाएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्ता समिकरण बदलिएसँगै सत्ता छाड्नुपर्ने परिस्थिति बनेको हो । प्रदेश सरकार निर्माणलगायतका विषयमा निर्णय गर्न बागमतीका सत्ता साझेदार दलहरू केन्द्र सरकार गठन लगत्तै प्रदेश सरकारका विषयमा अघि बढ्ने तयारीमा छन् ।
माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेललाई शुक्रबार भेटेरै राजीनामा बुझाउन खोजेपनि उनी हेटौँडा बाहिर रहेका कारण सम्भव नभएकाे बताइएकाे छ । तत्काल राजीनामा बुझाउने एमालेका मन्त्रीहरूको योजना मुख्यमन्त्री हेटौडा आएपछि हुने भएकाे छ ।
केन्द्रीय तहमा एमाले र कांग्रेसको साझेदारीको सरकार बन्ने भएपछि बागमतीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने छ । सोही समीकरण अनुसार सरकार गठनका लागि जम्कट्टेल नेतृत्वको सरकारबाट एमालेले अलग हुँदै समर्थन फिर्ता लिनु पर्ने हुन्छ । एमालेले नयाँ समीकरण अनुसार सरकार गठनमा पहल गर्न राजीनामाको तयारी गरेपनि मुख्यमन्त्री जम्कट्टेल काठमाडौं भएकाे बुझिएकाेले राजीनामा बुझाउन भने बाँकी रहेकाे एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । उनले भने, ‘मुख्यमन्त्री हेटौंडा आएलगत्तै राजीनामा बुझाउँछौँ ।’
एमालेका मन्त्रीहरू ३ महिनामा बाहिरिदै
एमालेबाट वर्तमान सरकारमा सहभागी भएकाे ३ महिनामा सरकारबाट बाहिरिने भएकाे छ । २० फागुन २०८० मा केन्द्रमा नेकपा माओवादी र नेकपा एमालेसहितकाे सत्ता समीकरण भएपछि प्रदेशमा १७ चैत २०८० मा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको थियो । यसअघि बागमतीमा एमाले करिब १ वर्ष प्रतिपक्षमा रहेको थियाे । माओवादी केन्द्रकाे नेतृत्वमा एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीको साझेदारीसहितकाे सरकारमा एमाले सहभागी भएको थियो । एमालेबाट गत चैत १७ मा एक र चैत २० मा ५ जना मन्त्री सरकारमा सहभागी भएका थिए ।
जम्कट्टेल नेतृत्वको सरकारमा एमालेबाट चैत १७ मा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया र चैत २० मा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ सहभागी भएका थिए ।
आन्तरिक भेटघाटमा व्यस्त मुख्यमन्त्री
यसैबिच सत्ता समीकरण फेरिने सहमति बनेलगत्तै काठमाडौँ पुगेका मुख्यमन्त्री जम्कट्टेल आन्तरिक भेटघाटमा व्यस्त छन् । पार्टीका शीर्ष नेतासहित अन्य दलका नेताहरूसँग उनले भेटघाट गरिरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता समीकरण र सरकारको भविष्यका विषयमा मुख्यमन्त्री जम्कट्टेलले संसदीय दलका सदस्य र पार्टी कमिटीसँग छलफल गरिरहेको सचिवालयका एक सदस्यले बताए । मुख्यमन्त्री जम्कट्टेलले नयाँ समीकरण अनुसार सरकार निर्माणको प्रक्रिया अघि बढाइएपछि केन्द्रको निर्देशन अनुसार अघि बढ्ने रणनीति तय गरेका छन् । केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिने गरी तयारी गरेकाेले उनले प्रदेशमा पनि संसदमा प्रक्रियाकाे फेस गर्ने तयारी रहेको बताइएकाे छ ।
जम्कट्टेलको प्रदेश सरकारकाे यात्रा
२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता समीकरणबाट मुख्यमन्त्री बनेका जम्कट्टेल समीकरण परिवर्तनसँगै ३ पटक सरकार जोगाउन सफल भए । पहिलो पटक ३ माघ २०७९ मा सो गठबन्धनबाट विश्वासको मत लिएर सरकारलाई निरन्तरता दिएका थिए जम्कट्टेलले । ३ माघ २०७९ मा कुल ११० सांसद मध्ये १०५ सांसदको समर्थन पाएका उनले राप्रपा र एमालेसँगको सहयात्रा टुङ्गिएपछि १० चैत २०७९ मा दोस्रो पटक विश्वासको मत लिँदा ६७ सांसदको समर्थन पाएका थिए । त्यसयता जम्कट्टेलकाे लोकप्रियता निरन्तर खस्कदै गएको देखिन्छ ।
२० फागुन २०८० मा पुनः सत्ता समीकरण परिवर्तन भएकाेमा २३ फागुनमा सरकारबाट कांग्रेस अलग भयो । त्यस लगत्तै बाध्यकारी परिस्थितिका बिच १९ चैत २०८० मा मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिएका थिए । उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहितको गरी ५६ मत प्राप्त गरे ।
सत्ता गठबन्धन परिवर्तनसँगै पटक पटक सङ्कटको सामना गरेका मुख्यमन्त्री जम्कट्टेल यसपटक भने निकै अप्ठ्यारोमा परेका छन् । गत सोमबार राति बनेको कांग्रेस र एमालेको गठबन्धनका कारण मुख्यमन्त्री पदबाट अलग हुनु पर्ने भएकाे हाे ।
प्रदेशसभामा अंकगणित
बागमती प्रदेश सभा ११० सदस्यीय रहेकाे छ । बागमती प्रदेश सभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक रहन्छ ।
प्रदेशमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । यस्तै, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । कांग्रेस र एमालेसँग गरेर ६४ सांसद रहेकाे छ । यो सरकार बनाउन पुग्ने भन्दा ८ ले बढी हाे । यसमा अन्य दलसमेत सहभागी हुने केन्द्रीय सरकार गठन हुँदा समर्थन गर्ने दलहरुकाे आधारमा तय हुने छ ।

