मकवानपुर । मकवानपुरको पालिकाहरुले सोमबार नीति तथा कार्यक्रम र बजेट पालिकाकाे सभा समक्ष प्रस्तुत गरेका छन् । असार १० गते भित्र पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था रहेकाेले मकवानपुरका पालिकाहरुले पनि नीति तथा कार्यक्रम र बजेट सभा समक्ष प्रस्तुत गरेका हुन् ।
असार १० गते भित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेर असार महिनाकाे अन्तसम्म पारित गर्नु पर्ने व्यवस्था भए पनि कतिपय पालिकाले सोमबार नै पारित समेत गरेका छन् । हेटौडा उपमहानगरपालिकाले भने असार २ गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरेर असार ७ गते पारित गरेकाे थियाे । यसै गरी थाहानगरपालिकाले असार ७ गते बजेट प्रस्तुत गरेकाे छ ।
उपमहानगरपालिकाको आगामी आवको लागि कुल २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेट चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६ दशमलव ०७ प्रतिशतले कम छ ।
अर्थतन्त्रमा परेको प्रतिकूल प्रभाव तथा संघ र प्रदेशबाट भएको घट्दो बजेट सीमालाई ख्याल गर्दै बजेटको आकार घटाएको उपमहानगरले जनाएको छ ।
यसै गरी थाहा नगरपालिकाको बजेटमा कृषि, पूर्वाधार शिक्षा र पर्यटनको विकासलाई प्राथमिकतामा राख्दै कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगार र रोजगारीको वातावरण सिर्जना गर्ने उल्लेख छ ।
आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले थाहा नगरपालिकाले राष्ट्रसेवक कर्मचारीलाई पर्यटन काजका लागि रकम विनियोजित गरेको छ । तरकारी खेतीलाई प्रवर्धन गर्न बजेट विनियोजन गरेकाे थाहाले आलु खेतीकाे उन्नत बीउको लागि बजेटमा अनुदानको व्यवस्था गरेको छ ।
यसै गरी मकवानपुरका अन्य ८ वटा पालिकाले सोमबार बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
मकवानपुरगढी गाउँपालिका
मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु. ५७ करोड ९५ लाख ८० हजार रुपैयाकाे बजेट प्रस्तुत गरेकाे छ । सोमबारकाे ११ औँ अधिवेसनमा उपाध्यक्ष उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनले आगामी वर्षको लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । उनले रु. ५७ करोड ९५ लाख ८० हजार अनुमानित आय प्रस्तुत गरेकी हुन् । उनले सभामा संघीय सरकार वित्तिय समानिकरण अनुदान रु. ९ करोड ८२ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान रु. ९६ लाख गरी जम्मा वित्तीय समानिकरण अनुदान रु. १० करोड ७८ लाख प्राप्त भएको बताइन् ।
त्यसैगरी संघीय सरकार राजस्व बाँडफाँड मूल्य अभिवृद्धि कर ६ करोड ५५ लाख रुपैया बाँडफाँड भई प्राप्त हुने अन्तशुल्क राजश्व २ करोड ३८ लाख रुपैया, खानी तथा खनिज सम्बन्धी रोयल्टी बाँडफाँडबाट ७५ लाख रुपैया, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत १ करोड रुपैया, ढुंगा, गिट्टी, बालुवा नदिजन्य पदार्थ (दहत्तर बहत्तर) राजस्व बॉडफॉडबाट प्राप्त हुने ३ करोड रुपैया सहित जम्मा १५ करोड ६४ लाख रुपैया अनुमान गरिएको उपाध्यक्ष पाख्रीनले बताइन् ।
गाउँपालिकाले प्रदेश सरकार समपुरक अनुदान ३ करोड रुपैया हुने अनुमान गरेको छ । संघीय विशेष अनुदान ५० लाख र प्रदेश विशेष अनुदान रकम १ करोड प्राप्त हुने अनुमान गरिएकाे उनले जानकारी दिइन् । गाउँपालिकाको व्ययतर्फ पुँजीगतमा ३० करोड ८ लाख २ हजार १९ रुपैया, अर्थात (५१.९ प्रतिशत) र चालु तर्फ २७ करोड ८७ लाख ७७ हजार ९ सय ८० अर्थात (४८.१ प्रतिशत) अनुमान उपाध्यक्षले प्रस्तुत गरिन् ।
मनहरी गाउँपालिका
मकवानपुरकाे मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८१/०८२ कालागि ९० करोड १३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमबारकाे गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सीता पुलामीले आगामी आर्थिक वर्ष आर्थिककाे लागि ९० करोड १३ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् ।
गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा ३ करोड रुपैयाँ कम बजेट ल्याएको हो । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ९३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । गाउँपालिकाले कुल बजेट मध्ये आन्तरिक आय स्रोत तथा बैंक नगदबाट ३० करोड २७ लाख ९४ हजार रुपैयाँ रहने अनुमान गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल बजेटमध्ये संघीय सरकारको सशर्त र समपुरक गरी ३५ करोड ३६ लाख ५५ हजार रुपैयाँ, प्रदेश सरकारको समपुरक, विशेष र सशर्त तर्फ ६ करोड २८ लाख १० हजार रुपैयाँ, संघ र प्रदेश सरकारले उपलब्ध गराएको समपुरक बजेटमा गाउँपालिकाको तर्फबाट समेत गरी २ करोड ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रशासनिक चालु खर्च तथा कार्यक्रम खर्च तर्फ १६ करोड ५० लाख २२ हजार रुपैयाँ, विषयगत कार्यक्रम क्रियाकलापतर्फ ३० करोड ७३ लाख ४७ हजार रुपैयाँ, वडास्तरीय योजनातर्फ ९ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
भीमफेदी गाउँपालिका
भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित भएको छ ।
पालिकाको सोमबार भएकाे ११ औं गाउँसभाले पालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सर्वसम्मत पारित गरिएको हो । श्रेष्ठले न्यायिक समितिको प्रगति प्रतिवेदन र आगामी आवको आर्थिक विधेयक समेत सभामा प्रस्तुत गरेका थिए ।
भीमफेदीकाे नीति तथा कार्यक्रममा रैथाने बाली उत्पादन बढाउन कोदो र फापरमा नगद अनुदान वितरण गर्ने विद्यालय खाजा कार्यक्रमलाई विस्तार गरी संघीय सरकारले ५ कक्षासम्म सञ्चालक गरेको खाजा कार्यक्रमलाई पालिकाले विस्तार गरेर ८ कक्षासम्म पुर्याउने, अनौपचारिक क्षेत्रका एक सय जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउनेलगायतका छन् ।
बागमती गाउँपालिका
पुर्वी मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पालिका अध्यक्ष सर्केश घलानले १२ औं गाउँसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
पालिकाले आगामी आर्थिक बर्षमा पालिका आफैँले क्रसर उद्योग संचालन गर्ने भएको छ । बागमती–५ मा संचालन हुने क्रसर उद्योगका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताइएकाे छ। क्रसर उद्योगबाट तयारी गिट्टी बालुवा बिक्रि गर्दा मूल्य बढी पाइने र त्यसको लाभ पालिका र पालिकाभित्रका जनतालाई पुग्ने उनले बताए ।
पालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधारतर्फ १३ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ४ करोड २५ लाख, सामाजिक विकासतर्फ ४ करोड २५ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड १० लाख रुपैयाँ र संस्थागत विकास, कार्यालय संचालन तथा प्रशासनिक खर्चमा ११ करोड १२ लाख रुपैयाँ गरी स्रोत अनुमानबाट ३४ करोड १२ लाख रुपैयाँ बजेट सीमा निर्धारण गरेको छ ।
राक्सिराङ गाउँपालिका
मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ५४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । सोमबारकाे गाउँसभामा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यसैगरी उपाध्यक्ष वनस्थम थिङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकाे छन् । राक्सिराङ गाउँपालिकाले संघीय सरकारबाट ४० करोड ६४ लाख ३४ हजार रुपैयाँ, प्रदेश सरकारबाट ७ करोड ७० लाख ३८ हजार रुपैयाँ र आन्तरिक स्रोत ६ करोड २७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । राक्सिराङले चालुतर्फ ३३ करोड ४१ लाख ६७ हजार रुपैयाँ र पुँजीगततर्फ २१ करोड २० लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरी बजेट सार्वजनिक गरेकाे हाे ।
बकैया गाउँपालिका
पुर्वी मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९१ करोड ९५ लाख ६२ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको गाउँसभामा पालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरे ।
पालिकाले चालू आर्थिक वर्षको भन्दा १० करोड बढी रकमको बजेट ल्याएको हो । पालिकाले चालू आर्थिक वर्षमा ८१ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पालिकालाई आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट सशर्त अनुदानतर्फ ३४ करोड ६४ लाख रुपैयाँ, बागमती प्रदेश सरकारले सशर्त अनुदानतर्फ ३ करोड ९ लाख रुपैयाँ उपलब्ध भएको छ । यस्तै संघीय सरकारबाट समपुरक अनुदानबापत २ करोड ८५ लाख, प्रदेश सरकारबाट १ करोड ९७ लाख रुपैयाँ उपलब्ध भएको छ ।
पालिकाले हरेक वडाको समानुपातिक विकास गर्न प्रत्येक वडालाई ६५ लाखका दरले बजेट विनियोजन गरेको छ । कृषि तथा पशुजन्य उत्पादनलाई प्रवर्द्धन गर्न, सहुलियत दरमा दाना तथा साइलेज विक्री वितरण गर्न तथा प्राङगरिक मल उत्पादन गर्न बकैया कृषि औद्योगिक ग्रामको संचालन गर्न १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
कैलाश गाउँपालिका
मकवानपुरको कैलाश गाउँपालिकाको गाउँसभाको १४औं अधिवेशनमा अध्यक्ष लोकबहादुर मुक्तानले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
अध्यक्ष मुक्तानले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा रोजगारी सिर्जनाका लागि स्थानीय जनशक्ति परिचालन, स्वच्छ र सुलभ खानेपानीको उपलब्धता, एक घर एक धारा नीति, एक घर एक शौचालय, मासिक हाटबजार सञ्चालन, एक घर एक करेसाबारी, पशु बीमामा अनुदान, उत्पादनमा आधारित नगद अनुदान कार्यक्रम, रिटर्नी उद्यमशीलता कार्यक्रम, नमूना युवा उद्यम कार्यक्रम संचालन गरिने उल्लेख छ ।
यसैगरी आर्थिक सहायता सहितको छात्रवृत्ति, विद्यालय ल्याऔं, टिकाऔं, सिकाऔं र विकाऔं कार्यक्रम मारुनी, घाटु नाच एवम् पञ्चेवाजा, खैजडी भजन लगायतको संरक्षण र प्रबर्द्धन गर्न युवा वर्गलाई तालिम तथा प्रशिक्षण, अध्यक्षसँग विपन्न कार्यक्रम, चेली प्रोत्साहन कार्यक्रम, ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम, अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित महिलाहरुले व्यवसाय, कृषि समूह दर्ता गर्दा ५० प्रतिशत छुट, शून्य बेरुजु गाउँपालिका रुपान्तरण अभियान लगायतका कार्यक्रमहरु आगामी वर्ष सञ्चालनमा ल्याईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँसभामा पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ प्रस्तुत गरे । कैलाश गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४८ करोड ७८ लाख ६७ हजार ७१८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
चालू आर्थिक बर्षमा पालिकाले ५२ करोड ४२ लाख ५५ हजार ३०५ रुपैयाँको बजेट विनियोजन गरेकाे थियो । आगामी बर्षको बजेट चालू बर्षको तुलनामा ३ करोड ६३ लाख ८७ हजार ५८७ रुपैयाँ कम विनियोजन गरिएको हो । बजेट प्रस्तुत गर्दै पालिका उपाध्यक्ष ठकुरीले कृषि विकासतर्फ ९० लाख ५१ हजार, उद्योग विकासतर्फ ३१ लाख, पर्यटनतर्फ ५४ लाख, सिंचाईतर्फ ५७ लाख ३५ हजार, पशुपन्छी विकासतर्फ २२ लाख ७२ हजार र आर्थिक विकासतर्फ ३ करोड २७ लाख २९ हजार बजेट विनियोजन गरिएको जानकारी दिए ।

