मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले राजनीतीमा लागेर समाजमा सकारात्मक परिवर्तन गर्नेहरुका योगदानलाई समाजले सदैब सम्झीरहने बताएका छन् ।
मीनबहादुर थपलिया स्मृती प्रतिष्ठानको १९ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले समाजको विकास र समृद्धिका लागि योगदान गर्नेहरु नै समाजमा अमर रहने बताएका हुन् । चुरियामाई गाविसका पुर्व उपाध्यक्ष मिन बहादुर थपलियाको स्मृतिमा गठन गरिएको मीनबहादुर थपलिया स्मृती प्रतिष्ठानले सामाजिक क्षेत्रमा योगदान पुर्याएका ८० बर्ष उमेर माथिका ५ जना बृद्धलाई सम्मान गरेको छ ।
१४ नम्बर वडाको विकासमा योगदान पुर्याएका ऋषिराम घिसीङ, डोलानाथ दुवाडी, प्रेम मोक्तान, देवन्द्रराज उपाध्याय र मान बहादुर लामालाई सम्मान गरिएको हो । कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, १४ नम्बर वडाका अध्यक्ष दिपक खड्का हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीलगायत १४ नम्बर वडाका राजनीतिक दलका प्रतिनिधी र संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।
पूर्व गाविस उपाध्यक्ष थपलियालाई १९ वर्ष अघि शसस्त्र युद्धका बेला उनको घरमै गोलीहानी हत्या गरिएको प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीले बताए । उनको हत्याको जिम्मेवारी राज्य वा विद्रोही पक्ष कसैले लिएको छैन । थपलियालाई राज्यले सहीद घोषणा गरेको छ ।

