मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले गाँजा खेती प्रवर्ध्दन गर्ने भएको छ । कृषकलाई संघीय कानून बमोजिम औषधीजन्य प्रयोजनकोलागि गाँजा खेती प्रवर्ध्दनमा सहयोग गरिने नीति गाउँपालिकाले लिएको हो ।
मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/२०८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । जसमा गाँजा प्रवर्ध्दन गरिने नीति समेत लिएको हो । मकवानपुरको मनहरी, राक्सिराङ्, कैलाश, इन्द्रसरोवर लगायतको गाउँलिपालिकामा किसानहरुले व्यावसायीक गाँजा खेतीगर्ने गरेका छन् । कानूनी बैधता प्राप्त नभएकोले प्रहरी प्रशासनले हरेक वर्ष गाँजा खेती नष्ट गर्न लाखौ खर्च गर्दै आएको छ ।
गाउँपालिकाले कृषि उत्पादन वृद्धिमा प्रोत्साहन गर्न उत्पादनमा अनुदान दिने भएको छ । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका किसानद्वारा उत्पादित आलु, प्याजलगायत तरकारी तथा अन्नवालिमा समेत संभाव्यता अध्यन गरि मूल्य अनुदान प्रदान गरिने नीति लिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।
उत्पादन पछि हुने क्षति न्यूनीकरणको लागि गाउँपालिकाले कोल्ड स्टोरेजको व्यवस्था गर्न आवश्यक समन्वय गरी विशेष अनुदान दिइनेछ। खेतीयोग्य बाँझो जमिनको यथार्थ तथ्याङक संकलन गरी बाँझो जग्गा उपयोगमा ल्याउन प्रोत्साहन गरिने नीति लिएको छ ।
कृषि सेवा केन्द्रमा माटो परिक्षण प्रयोगशाला स्थापना गरी निःशुल्क माटो परिक्षण सेवा प्रदान गरिने, परिक्षणको आधारमा चुन तथा सुक्ष्म तत्वहरु ५० प्रतिशत अनुदानमा वितरण गरिनेछ। सम्भाव्यताका आधारमा तुलनात्मक लाभ भएका वस्तुहरुको पहिचान गरी पकेट क्षेत्र, सामुहिक खेति, करार खेति तथा चक्लाबन्दी खेतिलाई प्रोत्साहन गरिने नीति पालिकाले लिएको अध्यक्ष कालाखेतिले बताए ।
कृषि बिमा कार्यक्रमलाई प्रभावकारी र पहुँचयोग्य बनाई बिमा प्रिमियममा लाग्ने शुल्क पालिकाको आर्थिक क्षमता विश्लेषण गरि विपन्न कृषकको लागि पूर्ण निशुल्क सहित सबै कृषकको तोकिएको प्रतिशत गाउँपालिकाले व्यहोर्ने व्यवस्था गर्ने भएको छ । कृषि बालि विमा तथा पशु विमा योजना कार्यान्वयन गर्न विमा कर्मचारीको व्यबस्था मिलाईने भएको छ। पशुपालनलाई प्रबद्र्धन गर्ने गरी साविकमा सञ्चालनमा रहेको गाई भैंसीको कृत्रिम गर्भाधान कार्यलाई निशुल्कः रुपमा निरन्तरता दिइने, दुग्ध उत्पादनमा प्रोत्साहन गर्न दुग्ध संकलन केन्द्र डेरीमा दुग्ध बिक्री गर्ने किसानलाई प्रति लिटरका दरले उपलब्ध गराउदै आएको नगद प्रोत्साहन कार्यक्रमलाई प्रदेश सरकारसंग समन्वय गरि निरन्तरता दिईने भएको छ ।
गाउँपालिका क्षेत्र भित्रका कम्तिमा एक हजार लैना पशुहरुको बीमा गर्न आवश्यक बीमा प्रिमियम रकममा ५० प्रतिशत अनुदान दिने भएको छ। यसैगरी पशुपालनलाई प्रोत्साहन गर्न पोषणयुक्त घाँसेवालिको विकास गर्नुपर्ने हुँदा सो को लागि संघीय सरकारसँगको सहकार्यमा हरियो घाँस विस्तार कार्याक्रम सञ्चालन गरिने, उन्नत बाखा पकेट क्षेत्र कार्यक्रम लागु गरिने, प्रदेश सरकारसँगको साझेदारीमा बाखा प्रवर्ध्दन कार्यक्रम सञ्चालन गरिनेछ ।
कृषि एवं पशुपन्छीजन्य व्यवसायमा युवा जनशक्तिलाई आकर्षित गरी स्टार्टअप नवप्रवद्र्धन कार्यक्रमका लागि बिशेष व्यबस्था गरिने कालाखेतिले बताए । दुग्ध जन्य पदार्थको उत्पादनलाई प्रवर्ध्दन गर्न प्रदेश सरकारसंगको सहकार्यमा उन्नत जातको भैंसी पालन गर्ने कार्यक्रममा सहयोग गरिने उनले बताए ।
एक वर्षको यस्ता उपलब्धी
मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमो ११ महिनामा ११ हजार ८५५ मिटर स्लाब बाटो निर्माण गरेको छ । यसैगरी ६ हजार ९७२ मिटर ग्राभेल बाटो निर्माण गरेको छ, भने २४ हजार मिटर नयाँ ट्रयाक निर्माण गरेको छ । गाउँपालिकाले रिटेनिंग वाल ४ हजार ३२१ मिटर, पक्कि नाला २ हजार ८४३ मिटर, ग्याविन ड्याम २४८६ मिटर निर्माण गरेको छ ।
यसैगरी २ हजार ४८६ मिटर खानेपानी पाइपलाईन विस्तार, ८५ वटा ट्युबेल धारा निर्माण गरेको छ । कालोपत्रे सडक निर्माण २ हजार १५७ मिटर गरेको छ भने ३२ वटा सार्वजानिक भवन निर्माण तथा मर्मत सम्भार गरेको छ । ८ कलभर्ट तथा पुल निर्माण १७ वटा कम्पाउड तारजालि, काडेतार ३ हजार ४०१ मिटर निर्माण गरेको छ ।
६ वटा सामुदायीक स्वास्थ्य ईकाइ भवन निर्माण सम्पन्न गरेको छ मनहरी अस्पताल भवन निर्माण कार्य २१ प्रतिशत कार्य प्रगती भएको पालिका सूचना अधिकारी विकल्प चौलागाईले बताए ।

