मकवानपुर । लागूऔषध न्यूनीकरणमा सरोकारवालाहरुले चासो देखाएका छन् । लागूऔषधकाे प्रयोगकाे एकै पटक समाधान सम्भव नहुने तर न्यूनीकरण गर्दै लैजानुपर्ने शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् ।
जनपत्र मिडिया प्रालि हेटौंडा आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा लागूऔषधका कारण समाजमा बढ्दै गएको समस्या, यसको समाधानमा सांसद र सरोकारवालाहरुको भूमिका विषय कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरुले चासाे देखाएका हुन् ।
लागूऔषधले समस्या बढ्दै गएकाले यसमा तीनै तहका सरकारहरु लाग्नुपर्ने कार्यक्रममा सहभागी प्रदेश मामिला समिति सदस्य तथा अन्य समितिका सांसदहरुले बताएका छन् । कार्यक्रममा बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति छिरिङ दार्जे लामा, सदस्यहरु भारती कुमारी पाठक, गिरबहादुर तामाङ, कृष्ण प्रसाद सिल्वाल, उर्मिला सुनुवार, बिन्दु श्रेष्ठ, शिबराज अधिकारी, हरिप्रभा खड्गी, हरि सापकोटा, प्रेमभक्त महर्जन, बालकुमारी विश्वकर्मा लगायतकाले लागूऔषधकाे विषयलाई प्रदेशसभामा उठाउने बताए ।
हरेक क्षेत्रमा सरकारले बजेट विनियोजन गर्ने तर लागूऔषध प्रयोगकर्ता न्यूनीकरण गर्न र यसको ओसारपसार कम गराउनेमा प्रदेश सरकारकाे चासो कम रहने प्रदेश मामिला समिति सभापति छिरिङ दोर्जे लामाले बताए । प्रदेश सरकारले उद्योगी व्यावसायीका भवन निर्माण गर्नका लागि लाखौ बजेट विनियोजन गर्ने तर लागूऔषध प्रयोग रोकथामका लागि बजेट छुट्याउने नगरेकाे उनले बताए ।
‘लागुऔषध नियन्त्रणको लागि सहकार्य गर्न सरकार तयार छ, सरकारसँगै स्थानीय जनसमुदाय र गैससहरुको पनि सहकार्य जरुरी छ’ उनले भने ‘विद्यालय नर्सहरुबाट विद्यालयका बालबालिकालाई लागुऔषध विरुद्धको सचेतना चलाउने गरी दक्ष बनाउनु पर्छ ।’ सरकारको नीति र विधिलाई मध्यनजर गर्दै गैससहरुले पनि लागु औषध विरुद्धको कामलाई वर्षमा कुनै दिन, उत्सव वा समारोहमा हैन सामान्य अवस्थामा समेत सेवालाई प्रभावकारी बनाउन सोच्नु पर्ने उनकाे धारणा थियाे ।
बागमती प्रदेशसभाका सदस्य भारती पाठकले लागुऔषध विरुद्धको अभियामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतना रहेको बताइन् । ‘एउटा व्यक्ति लागुऔषध दुर्व्यसनी फसेपछि परिवारका अन्य सदस्यलाई पनि रोगी बनाउछ’ उनले भनिन् । ‘लागू औषधबाट पीडित परिवार र नातेदारसम्म हुन्छन्’ उनले भनिन् ‘जनचेतना महत्वपूर्ण भएकोले व्यक्तिगत तथा संस्थागत रुपमा अभियानमा लाग्नु जरुरी छ ।’ लागु औषध दुर्व्यसनीलाई उपचार सँगसँगै परिवार समुदायको माया पनि उत्तिकै आवश्यक रहेकाे उनकाे भनाई थियाे ।’
बागमती प्रदेशसभा सदस्य गिरीबहादुर तामाङले व्यक्तिमा नैतिक शिक्षा र समाजिक शिक्षाको कमीले गर्दा लागु औषधको प्रयोग बढेको धारणा व्यक्त गरेका थिए । दिन दिनै लागु औषध प्रयोगकर्ता बढे भनिन्छ, तर रोकथामको लागि सरकारले के गरीरहेको छ पत्तो नभएको उनले बताए । ‘बढ्यो मात्रै भनेर हुन्न । लागूऔषध प्रयोगकर्ताकाे संख्या बढ्न नदिन तथा राेक्न जनचेतना बढाउन पर्छ’ उनले भने । बेरोजगारीको कारण समेत लागुऔषध प्रयोगकर्ता बढ्ने भएकाले रोजगारीको सिर्जना गरिनु पर्ने उनले बताए ।
बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्कीले प्रेम विवाह, पारिवारिक विचलनको कारण लागूऔषधको प्रयोग गर्ने आदत बस्ने गरेको बताइन् । यसको नियन्त्रणको कानून बनाएर कडाइका साथ पालन गराउनु पर्ने बताइन् । ‘शिक्षा र रोजगारीको अवसर बढाइनु पर्छ’ उनले भनिन् ‘स्थानीय सरकारका साथै समुदाय समेत नियन्त्रणमा लाग्नु पर्छ ।’ वडाका जनप्रतिनिधिदेखि संघीय सरकारसम्मको एकै लयमा काम गरिनु जरुरी रहेकाे उनले बताइन् । लागु औषधको कारोबार रोक्नु सरकारी तथा गैरसरकारी निकायको सहकार्य जरुरी रहेकाे उनले बताइन् ।
बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइले युुवा जमातमा लागूऔषध दुर्व्यसनीको सवाल भयावह बन्दै गरेकाे बताए । युवाहरु यसकाे दुर्व्यसनीमा फस्ने गरेकाे कारण पत्ता लगाई समाधानमा सरकार लाग्नु पर्छ, युवा परिषद सहकार्यको लागि तयार छ’ उनले भने । ‘लागू औषध विरुद्ध लाग्नेलाई प्रोत्साहन र उपचारमा सहजताकाे ग्यारेन्टी हुनु जरुरी रहेकाे उनले बताए ।
कार्यक्रममा नेपाल चिकित्सकसंघ मकवानपुरका अध्यक्ष डा. हरि खड्काले पछिल्लो समय डाक्टरहरुले उपचारमा चासो दिन थालेको जानकारी दिए । हेटौंडा अस्पतालमा पनि पछिल्लो समय लागूऔषध प्रयोगपछि मानसिक अवस्थामा समस्या भएकाहरुलाई छुट्टै उपचार कक्षको व्यवस्था गरिएको उनले बताए । ‘परामर्श सेवालाई प्रभावकारी बनाउन जरुरी छ’ उनले भने ‘सही ढंगले परामर्श गर्न सकियो भने लागूऔषधकाे सेवनमा रहेका व्यक्तिाई सजिलै छुट्याउन सकिनछ ।’ स्कुल कलेजहरुमा यो ज्ञानको अभाव रहेकाेले लागूऔषधकाे प्रयोगले हुने बेफाइदाकाे प्रचारप्रचार व्यापक हुनु पर्ने उनले बताए ।
कार्यक्रममा पूर्व लागूऔषध दुर्व्यसनीहरुले समाजमा पुनर्स्थापित भएपनि सरकारले कुनैपनि क्षेत्रबाट सहयोग नगरेको बताएका छन् । कार्यक्रममा सहभागी सामाजिक संघसंस्थाका प्रतिनिधि र बिद्यार्थीहरुले लागूऔषधका दुर्व्यसनीहरु बढ्दै गएको र यस क्षेत्रमा सरकारले न्यूनीकरणका लागि विभिन्न कार्यक्रम ल्याउन जरुरी रहेको औल्याएका थिए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल औषधी व्यावसायी संघ मकवानपुरका नारायण लाल श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत गुणराज न्यौपाने, मकवानपुर महिला समुहका अध्यक्ष कमला सुवेदी, फ्रेण्डस हेटौंडाका संयोजक किरण थापा, हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाइवा, रिकभरिङ नेपालका पूर्व अध्यक्ष शान्ता तामाङ, केन्द्रीय सदस्य सौजन डिसी, सन्दीप शाक्य, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतकाको आतिथ्यता रहेको थियो ।

