मकवानपुर । हेटौंडाका सौजन डीसी अहिले ३३ वर्ष भए । कक्षा ८ मा पढ्दा नै लागुऔषधको लतमा फसिसकेका थिए । नशाको लत यति एकोहोरो बनायो कि उनी कक्षामा नै ब्राउन सुगर बोकेर जान्थे । साथीहरुसँग कक्षामै प्रयोग गर्थे ।
कक्षा १० पढ्दै गर्दा समकक्षी तान्या अग्रवालसँग विवाह गरे । लगत्तै उनीहरु दुबै सन् २०१० मा रोजगारको शिलशीलामा दुबई पुगे । लागुऔषधको लत दुबईमा पनि कायम नै रह्यो । उनी यो नशा छोड्न चाहन्थे । सन् २०१३ मा नेपाल फर्के । त्यसपछि नशाको लत छोड्न कै लागि २ महिने छोरा र श्रीमती तान्यालाई हेटौंडामा कोठाभाडामा राखेर आफू पुनर्स्थापना केन्द्र खोज्दै काठमाडौं पुगे । सोही दिन (सन् २०१३) रात छोरा सिआन बिरामी परे । उपचारको क्रममा सिआनको ज्यान गयो । “त्यो चोटले मलाई झन् नशा छोड्नै पर्छ भन्ने लाग्यो” सौजन भन्छन् ।
३ महिनाको बसाइपछि घर फर्के । तर, परिवार र समाजले सहज स्वीकार गरेन । उनले हार मानेन्, सङघर्ष जारी राखे । उनी गित, संगित, बाद्यबाधनमा रुचि राख्थे । जीवनमा साँगेतिक पाटोमा रमाउन चाहन्थे । तर, लागु औषधको लतले उनलाई त्यो यात्रामा टिकीरहन दिएन ।
आफूले लागु पदार्थ प्रयोग छोडेपछि सन् २०१६ मा उनले आफैं पुर्नस्थापना केन्द्र सुरु गरे । अहिलेसम्म एक हजारभन्दा बढी युवालाई लागुऔषधको लतबाट छुटाइसकेका छन् । अहिले उनी आफैं पुर्नस्थापना केन्द्र सञ्चालक हुन् । पैतृक १० कठ्ठा जग्गामा उनले केन्द्र स्थापना गरेका छन् । उनले पुर्नस्थापना केन्द्र सुरु गरेको ८ वर्ष बित्यो ।

उनले सञ्चालन गरेको हेटौंडा ९ स्थित सिआन पुनर्स्थापना केन्द्र बागमती प्रदेश भरकै उदाहरणीय केन्द्र रहेको भनेर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०७५ सालमा ५० हजार दिएको थियो । साथै यही सालमा प्रदेशको कृषि मन्त्रालयले केन्द्रलाई सम्मान गर्यो ।
लागूऔषध प्रयोगकर्ताहरुका लागि उपचार तथा पुनर्स्थापना केन्द्र संचालन निर्देशिका, २०७५ अनुसार पुनर्स्थापना केन्द्रमा चौबिसै घण्टा शुद्ध खानेपानीको उपलब्धता, बगैंचाको व्यवस्था, आफ्नै संरचनामा तालिम संचालनको छुट्टै हल, खेल मैदान, उपचारत व्यक्तिलाई पर्याप्त पुग्ने गरी सुत्ने बस्ने ठाउँको व्यवस्था, पालोपहरा तथा सुरक्षाकर्मी जस्ता मापदण्ड तोकिएका छन् ।
पठशाला जस्तो सुधार केन्द्र
सिआन पुनर्स्थापना केन्द्रमै खेल मैदान, व्यायमशाला, स्वास्थ्य जाँचको लागि कोठा छ । विहान व्यायम र खेलमा सहभागी हुन्छन् । दिउँसो अभिव्यक्ति/भाषण कलाको कक्षा हुन्छ । साँझ सबै मिलेर फूलबारी र तरकारी बारीमा काम गर्छन् ।
पुनर्स्थापना केन्द्रको लागि तरकारी उनीहरु आफैंले फलाएका छन् । एउटा गाई पालेका छन्, दुध दहिको जोहो आफैं गर्छन् । अहिले यही बसेर आफ्नो कुलत छुटाउने कोशिसमा ५७ जना छन् जहाँ १९ वर्षदेखि ६७ वर्षका व्यक्तिहरु औषधको लत छुटाउने अभ्यास गरिरहेका छन् । केन्द्रमा ७० जना राख्न सकिने क्षमता रहेको छ ।
सिआनमा हाल ११ जना पूर्व प्रयोगकर्ताहरुले त रोजगारी नै पाएका छन् । केन्द्रमा नियमित सेवा लिनेहरुले तिरेको शुल्कबाट केन्द्र चलेको छ । यहाँ मासिक १८ हजार शुल्क तोकिएको छ । केन्द्रले वार्षिक २ जनालाई ६ महिने आवासिय सेवा निःशुल्क प्रदान गरिएको सौजन बताउँछन् ।

अहिले यहाँ सामान्य परिवारदेखी मेयर, मन्त्रीसम्मका सन्तान लत छुटाउन प्रयासरत छन् । लत छुटाउनको लागि यहाँ बसेका ५० प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या छ । केही आफूलाई पूर्ण रुपमा स्वस्थ्य भएपछि सरकारी सेवामा प्रवेश गरेका छन् केही निजी विद्यालयहरुका सञ्चालक बनेका सौजन बताउँछन् । केन्द्रमा रहेकाहरुले पनि आफूमा राम्रो सुधार भएको आभाष गरेको बताए ।
“लागुऔषधमा लागेकै कारण आफ्नो पहिलो सन्तान गुमाएँ, सन्तान गुमाउँदाको पीडाले मलाई अरु युवा पनि जोगाउनु पर्छ भन्ने निष्कर्षमा पुर्यायो, अनि केन्द्र खोलेँ” उनले भने “सही समयमा रिह्याबमा गएकै कारण म बँचेको हुँ, अरुलाई पनि बँच्नको लागि यो (पुनर्स्थापना केन्द्र) आवश्यक देखेँ ।”
लागुऔषध दुर्व्यसनी विरुद्धको अभियानमा सक्रिय डीसीलाई उनकी श्रीमती तान्याको पनि साथ छ । डीसीले लागुऔषध प्रयोगकर्ता पुरुषहरुको लागि अभियान सञ्चालन गरिरहेका छन् । तान्याले भने लागुऔषध प्रयोग गर्ने महिलाको लागि सचेताना तथा रोकथाक कार्यक्रम सुरु गरेकी छिन् ।
८ वर्ष श्रीमानसँग यो अभियानमा सहकार्य गरेकी उनी अहिले महिलालाई सूइ साटासाट नर्गनको लागि सचेत गराउने, लागु औषधको डोज घटाउँदै लैजनाको लागि प्रेरित गर्ने, परामर्श सेवा दिने काम गर्छिन् । उनले यस्तो सेवाको लागि सिआन महिला पुनर्स्थापना केन्द्र स्थापना गरेकी छिन् । यहाँ ४७ जना महिलाहरु नियमित सेवा लिइरहेका छन् ।
“महिलाहरुमा प्रायः स्कुल कलेजका छात्रा धेरै छन्” उनी भन्छिन् “पुनर्स्थापना केन्द्र कै अभाव देखिन थालेको छ, उनीहरुलाई अब सम्पर्कमा राखेर रोकथामको लागि मात्रै पहल गरेर संभव छैन ।” आगामी आर्थिक वर्षबाट महिलाहरुको लागि पनि पुनर्स्थापना केन्द्रको स्थापना गर्ने तयारी रहेको उनीहरु बताउँछन् ।

हेटौंडा १० कर्राका विजय हाडा अहिले लागु औषधको विरुद्धको अभियामा छन् । उनै वियजलाई १२ वर्ष पहिले नशामा फसेकै कारण समाजले वास्ता गर्दैनथ्यो ।
विजय भन्छन् “लागु औषध दुर्व्यसनीमा फसेका समाजले “पागल” उपनाम दिन्थ्यो, जसले गर्दा पुनर्स्थापना केन्द्रबाट सन्चो भएर फर्केकाहरुलाई समेत परिवार र समाजमा सहज थिएन । सानोतिनो काममा पनि हामीलाई विश्वास नगर्ने, काम गर्ने अवसर नै नदिएपछि फेरी उही लतमा फर्किने संभावना अधिक हुने रहेछ ।” उनी आफैं पनि ८ पटकसम्म पुनर्स्थापना केन्द्रमा बसे ।
यसो त सियान पुनर्स्थापना केन्द्रमा पनि ७० प्रतिशत प्रयोगकर्ताहरु फेरी फेरी दोहोरिएर सेवाका लागि आउने गर्छन । तर पछिल्लो एक दशक यता उनको दैनिक फेरिएको छ । लागु औषध दुर्व्यसनीमा फसेका युवाहरुलाई उनी सहीबाटो देखाउने अभियानमा सक्रिय छन् ।
लागुऔषध दुर्व्यसनीकै कारण मानसिक समस्या भएकाहरुलाई रेखदेख गर्छन । परामर्श गर्छन् । विद्यालय, क्याम्पस तथा समुदाय स्तरमा लागु औषध दुर्व्यसनी विरुद्धको सचेतना अभियान चलाउँछन् । उनी आफैं सञ्चालक रहेको हेटौंडा ९ को पिरु फाउण्डेस सुधार केन्द्र (लागुऔषध तथा मादक पदार्थ उपचार केन्द्र) मा अहिले १५ जनाले सेवा लिइरहेका छन् । उनको अनुभवमा अहिले किशोरावस्थामा लागुऔषधको लतमा फस्नेको संख्या बढी छन् ।
विजय भन्छन् “आफूले बानी सुधार गरेर फर्क्यो, समाजले ट्यापे भनेर विभेद गर्थ्यो खप्न नसकेर फेरी त्यही फसें, छोराको बाउ भइसकेको थिएं, परिवारले पत्याउँदैनथ्यो, यस्तो वातावरणकै कारण लत छुटाउन समस्या हुन्छ ।”

पुनर्स्थापना केन्द्र सञ्चालकहरुको अनुभवमा ९३ प्रतिशत प्रयोगकर्ताहरु सामाजिकीकरण हुन नसकेपछि पुनः पुनर्स्थापना केन्द्रमा फर्कने गर्दछन् । ति मध्ये केही दिवाकालिन सेवा लिन्छन, केही किप इन टच (खानमन लाग्दा मन भुलाउन केन्द्रमै आएर समय बिताउने, मन भुलाउने) गर्छन् ।
अभिभावको पीडा
छोराछोरी लागुऔषधको नशामा लागेपछि अभिभावलाई कस्तो पीडा हुन्छ भन्ने उदाहरण हुन हेटौंडा ९ की कमला मिजार । कमला ५ वर्ष अगाडी डिप्रेसनको शिकार भइन् । कारण थियो सन्तान लागु षधमा फस्नु । “आफूले लाड प्यारले हुर्काएको १९ वर्षीय छोरा लागुऔषधमा फसेको जब थाहा पाएँ मैले आफैंलाई सम्हाल्न सकिन, तनाव बढ्दै जाँदा म पनि डिप्रेशनमा फसेँ । तर विस्तारै सबै समस्या हल भए” उनले भनिन् ।
हेटौंडा–९ सिमेन्टरोड निवासी कमला युनाइटेड ब्रुअरीमा कार्यरत थिइन् । विहान घरबाट निस्कदा छोरालाई राम्रसंग बस्नु खाजा खानु भनेर दिनहुँ सय डेढसय दिने गर्थिन् । साँझ कामबाट फर्कदा छोरो दीपसागर सुतिरहेको हुन्थ्यो । अनिदो जस्तो देखिने राता राता आँखा, भोक लागेको छैन खाजा खाए भन्ने जवाफ, दिनहुं दुब्लाउंदो अवस्थाको छोराको स्वास्थ्य । छोरो बिरामी भयो भनेर डक्टर–धामी तिर धाइन् रोग निको भएन । अन्ततः छोराको रोग पत्ता लाग्यो लागुऔषध दुर्व्यसनीका शिकार ।
अहिले अवस्था फेरीएको छ । २३ वर्षीय दीपसागर मिजार लागुऔषध प्रयोगकर्ताहरुलाई पुर्नजिवन दिन संभव छ भनेर लागि परेका छन् । अहिले बाबु समेत भैसकेका दीपसागर सिआन पुर्नस्थापना केन्द्रमा काम गर्छन् । “छोराको परिवार देखेर साह्रै खुसी छु अहिले” कमलाले भनिन् “सबैले पागलखाना भन्थे, मैले छोरो मर्नुभन्दा त्यही राखेर उपचार गर्नु राम्रो ठानेर ७ महिना राखे ।”
मकवानपुर जिल्ला लागुऔषध समन्वय समिति मकवानपुरका संयोजक समेत रहेका सौजन डिसीका अनुसार अहिले जिल्लामा ७ वटा पुनर्स्थापना केन्द्रहरु छन् । जसमा २ सय प्रयोगकर्ताहरु केन्द्रमै बसेर सेवा लिइरहेका छन् । अन्य सम्पर्क सेवा लिनेहरुको एकिन तथ्याङ्क छैन ।

जिल्ला लागुऔषध समन्वय समिति मकवानपुरले केही समय अघि यहाँ झण्डै ८ हजारको संङ्ख्यामा लागुऔषध प्रयोगकर्ताहरु रहेको र सम्पर्कमा आएका मध्ये सुईबाट लागुऔषध प्रयोग गर्नेहरुको संङ्ख्या मात्रै झण्डै ८ सयको नजिक रहेको बताएको थियो ।
हाल मकवानपुरमा ५० जना पुर्व लागुऔषध प्रयोकर्ताहरु पुर्नस्थपना केन्द्र सञ्चालमा सक्रिय रहेको छन् । अभियान्ताहरु भन्छन् “लागु औषध निस्तेज समाज निर्माणको लागि परिवारले आफ्नो बालबालिकालाई अनुशासित हैन जिम्मेवार बनाउनु जरुरी छ ।”
नेपाल सरकार गृहमन्त्रालयले वेब साइडमा सार्वजनिक गरेको रिपोर्ट अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ गरिएको थियो । त्यो बेला ८ हजार ७३२ महिला सहित १ लाख ३० हजार ४३४ जना लागुऔषध प्रयोगकर्ता रहेको देखिन्छ । यस अघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार ५३४ जना प्रयोगकर्ता थिए । वार्षिक वृद्धिदर ५ दशमलब ०६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयको तथ्याङ्क अनुसार हाल बागमती प्रदेशमा मात्रै कुल ४० हजार ८५५ पुरुष, ५ हजार ६२५ महिला गरी जम्मा ४६ हजार ८८० जना छन् । जसमा धुवाँबाट सेवन गर्नेहरु सबैभन्दा बढी ३५ प्रतिशत छन् । यस बाहेक मुखबाट खाएर नाकले सुँघेर र सुइबाट समेत लिने गर्दछन् ।
मन्त्रालयका अनुसार हाल नेपालमा लागुऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई दुर्व्यसनबाट छुटाई समाजमा पुनर्स्थापना गर्न नेपालभर २४० भन्दा बढी उपचार तथा पुनर्स्थापना केन्द्रहरू संचालनमा रहेका छन । लागुऔषधको प्रयोगबाट प्रयोगकर्ताहरूमा हेपाटाइटिस बी/सी, क्षयरोग, एच.आई.भि./एड्स, एस.टि.डी., कुपोषणलगायत विभिन्न स्वास्थ्य समस्या देखापर्दछन् । त्यसैगरी लागुऔषधको सेवनबाटै व्यक्तिको अकालमा ज्यानै पनि जाने गर्दछ ।

गलत संगत वा अन्य केही कारण लागु औषधको नशामा फसिहाले पनि स्वयम् व्यक्ति, परिवार (अभिभावक) तथा समाजको सही सहयोगले उनीहरुलाई सहीबाटोमा फर्काउन सकिने मकवानपुर बहुमुखी क्याम्पस समाजशास्त्र विषयका प्रोफेसर जगन्नाथ सापकोटा बताउँछन् ।
लागुऔषधको ट्राञ्जिट मकवानपुर
प्रहरीमा भएको तथ्याङ्क अनुसार मकवानपुर जिल्ला लागुऔषधको ट्राञ्जिट बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा बागमती प्रदेशको १० जिल्ला (उपत्यका बाहेक) मा मात्रै ८ हजार ५६८ किलोग्राम विभिन्न किसिमका लागूऔषध बरामद गरेको थियो ।
प्रदेश प्रहरी प्रवक्ता एसएसपी दुर्गा रेग्मीका अनुसार ८ हजार ५६८ किलोग्राम विभिन्न लागुऔषधमध्ये ६ हजार ६८ किलोग्राम लागु औषध मकवानपुरबाट मात्रै बरामद गरिएको थियो । यो आर्थिक वर्षमा लागुऔषध केसका ३६३ वटा मुदा दर्ता भएकोमा १५३ वटा मुद्दा मकवानपुरमा दर्ता भएका थिए । यसैगरी प्रदेशको १० जिल्लाबाट ५५६ जना पक्राउ परेकामा २५० जना मकवानपुरबाट पक्राउ परेका थिए ।
चालु आर्थिक वर्षको हालसम्म प्रदेशको १० जिल्लाबाट ५ हजार २३४ किलोग्राम विभिन्न किसिमका लागूऔषध बरामद गरेको मध्ये मकवानपुरबाट मात्रै २ हजार ७३३ किलोग्राम बरामद गरिएको छ । यसैगरी यो अवधिमा ३०८ वटा मुद्दा दर्ता हुदाँ १४१ वटा मकवानपुरबाट दर्ता भएका छन् । यही अवधिमा लागु औषध कारोवारमा संलग्न ४९० जना पक्राउ परेका छन्, जसमा मकवानपुरबाट मात्रै २३० जना पक्राउ परेका छन् ।
जिल्ला लागु औषध समन्वय समिति मकवानपुरले केही समय अघि यहाँ झण्डै ८ हजारको संङ्ख्यामा लागुऔषध प्रयोगकर्ताहरु रहेको र सम्पर्कमा आएका मध्ये सुईबाट लागु औषध प्रयोग गर्नेहरुको संङ्ख्या मात्रै झण्डै ८ सय जना रहेका छन् ।
महिलाको संलग्नता पनि बढ्दो देखिन्छ । गत आर्थिक वर्षमा प्रदेशको १० जिल्लाबाट ३२ जना महिला पक्राउ परेका थिए, जसमा मकवानपुरबाट १८ जना थिए । चालु आर्थिक वर्षको हालसम्म ४६ जना पक्राउ परेकोमा २७ जना महिला मकवानपुरबाट पक्राउ परेका छन् ।


