मकवानपुर । नवसर्जक सहित्य चौतारी नेपालले लघुकथा लेखन कार्यशाला आयोजना गरेकाे छ । कार्यशालामा मकवानपुरका सामुदायिक एवम् संस्थागत गरी २३ वटा विद्यालयको सहभागिता रहेकाे थियाे ।
कार्यशालाको सहजीकरण सर्जक सञ्जाल मकवानपुरका संयोजक एवम् संस्थाका सल्लाहकार निमेष निखिलले गरेका थिए । अन्तरक्रियात्मक कार्यशालामा देश तथा विदेशका उत्कृष्ट लघुकथाको उदाहरण दिँदै लघुकथामा सूत्रात्मक, रहस्यमूलक र व्यङ्ग्यात्मक,व्यञ्जनात्मक लेखनलाई प्राथमिकता दिनुपर्ने प्रशिक्षक निखिलले बताए ।
कार्यशालामा उपस्थित नवसर्जकले दिइएको विषयवस्तुमा आआफ्नो मौलिक कथ्यशैली प्रयोग गरी कार्यक्रम स्थलमा नै लेखिएका लघुकथा सुनाएका थिए ।
संस्थाका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमकाे सहजिकरणमा एकाइ समिति घोषणा गरिएकाे थियाे । कार्यशालामा सहभागी २३ वटा विद्यालयका एक/एक जना सम्पर्क शिक्षक र एक जना विद्यार्थी संयोजक रहने गरी हरेक विद्यालयकाेमा ७ सदस्यीय नवसर्जक एकाइ समिति’ गठन गरिएकाे थियाे ।
संस्थाले आगामी शुक्रबारबाट जुममार्फत् नवसर्जक पाठशाला (अनलाइन प्रशिक्षण कार्यक्रम) सञ्चालन गर्ने भएकाे छ । यसैगरी चाैतारीले आगामी जेठ ११ गतेदेखि तेस्रो चरणको अनलाइन साहित्यिक प्रशिक्षण अभियानलाई निरन्तरता दिने भएकाे छ ।
लघुकथा कार्यशालामा तुल्सीमेहर मावि, बालज्योति मावि, आधुनिक राष्ट्रिय मावि, जनजागृति मावि, हेटाैंडा एकेडेमी, प्रगति मावि, तासिर इङ्लिस बोर्डिङ स्कुल, नवोदय शिशु सदन, अमर मावि, जीएस निकेतन, चन्द्रोदय मावि, मकवानपुर बाल विद्या सदन, कमाने एकेडेमी, वनदेवी मावि, ज्योति मावि, हेटौँडा मोर्डन आवासीय मावि, सिद्धार्थ मावि, सिद्धार्थ शिशु सदन, जनज्योति मावि, श्रमिक मावि, बालजागृति इङ्गलिस सेकेन्डरी स्कुल, जनप्रिय मावि र ब्रह्मदिक् एकेडेमीबाट सहभागी भएका थिए ।
चाैतारीकी सचिव युकिसा अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमलाई सम्स्थाका महासचिव समर्पण न्यौपानेले सहजिकरण गरेका थिए ।

