मकवानपुर । नेपालका पुर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले लुटेरालाई नेता बन्ने छुट नभएको बताएका छन् ।
भ्रष्ट व्यक्ति नेता बन्नै नसक्ने र नेताले भ्रष्टाचार गर्नै नहुने व्याख्या गर्दै पुर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् । “जनतालाई ठग्ने, लुट्ने हैन, नेताहरु लुटेरा भन्ने भाष्यलाई गलत सावित गर्न लागि पर्नोस्, समाजमा रावण मात्रै छैनन् राम पनि छन्” उनले भने “असल कार्यकर्ता असल सन्तान जन्माउन लागि परौ ।”
मकवानपुरमा पार्टी जिल्लाको ९ औ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् । एमालेबाट टुक्रेपछि समाजवादीले लिएको उद्देश्यलाई पुरा गर्न जनताको दैलोमा जान र गुनासाहरु सुन्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
पार्टी फुटाएर आफूहरु अलग भएपछि विभिन्न आरोप प्रत्यारोप आएको तर आफूहरु कत्ति पनि विचल्लित नभई साँचो अभियानमा लागेकोले वर्तामान माहोल धेरै सकारात्मक भएको उनले बताए । उनले कार्यक्रममा सहभागीहरुलाई समेत आत्मा विश्वासका साथ अघि बढ्न प्रेरित गरे ।
“जनता समु जान, उनीहरुको गुनासा सुन्नमा ढिलाई नगर्नुहोस्, शंकटमा जनतालाई सहयोग सान्वना दिने मान्छे पाइन्न, समाजवादी त्यहा देखिनु पर्छ” उनले जिल्ला कार्यकर्तालाई लक्ष्यित गर्दै भने “चुनाव कसरी जित्ने हैन, प्रतिनिधि, मन्त्री र प्रधानमन्त्री कसरी बनिन्छ भन्ने पनि हैन जनताको सेवामा समर्पित हुने समाजवादीको उद्देश हो,सेवामा लाग्नुस्” उनले भने “राजनीतिमा लुटेरालाई ठाउँ छैन,कम्युनिस्ट भित्र कोहि छ भने ती कलंक हुन्, कारवाही गर्नुपर्छ ।”
आफूहरुले राजनीतिक गन्तव्यमा केही नबिराएको दाबि गर्दै उनले भने “नबिराउनु नडराउनु, हिम्मतका साथ अघि बढ्ने हो, इमानदारीताको साथ कर्तव्य पूरा गर्ने हो ।” उनले कार्यकतालाई पटक पटक जनताको सेवा र उत्थानमा लाग्न आग्रह गरे । नेकपा समाजवादी चुनौती सामना गर्न तयार रहेको बताउँदै उनले भने “सरकारमा जानू ठुलो कुरा हैन, एक वा दुई जना मात्रै गए पनि पुग्छ, चुनौती सामना गरेर, राम्रो काम गरेर उदाहणीय थिती बसाएर छाड्नुस् ।”
सामाजिक रुपमा जरो गडेर रहेको दलितमाथीको अत्याचार, महिला हिंसा, बालश्रम तथा बालविज्याइको विरुद्ध पार्टी उभिएको उनले बताए । यि सवालमा धेरै काम बांकी रहेको र योजनाबद्व रुपमा काम गर्नु आवश्यक भएको नेपालले बताए । सिमित बजेटबाट सन्तुलित विकासमा ध्यान दिनुपर्ने भएकोले सरकारको फेर बदलले आफूहरूलाई चिन्ता नभएको उनले बताए ।
कार्यक्रममा पार्टी उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज डा गंगालाल तुलाधरले युवा र महिलाको उपस्थिति रहर लाग्दो रहेकोमा खुसी व्यक्त गरे । समाजवादी संघीय संसदमा १० सिट भए पनि बलियो पार्टी भएको उनले बताए । उनले आगामी निर्वाचन २०८४ सम्म समाजवादी पार्टी एमालेभन्दा ठूलो हुने ठोकुवा गरे ।
कार्यक्रमा पार्टी बागमती प्रदेश सह इन्चार्ज ललितकुमार बस्नेतले एमालेबाट टुक्रेको खरानी भन्नेहरू अहिले समाजवादीको जमात देखेर अत्तालिन थालेको बताए । यसैगरी प्रदेश कमिटी अध्यक्ष साबित्रा भुसालले सत्ता सहकार्यमा रहदा भएको सहमति कार्यान्वयन नभएकोमा आक्रोश व्यक्त गरिन् । “हामी वामएकता चाहन्छौ, त्यसैले गठबन्धनमा गएका हौ, सहमतीको कार्यान्वयन नहुँदा हामी सधैं शान्त भएर रहदैनौं ।” जनजीवनको सवाल सम्बोधन गर्दै आत्मानिर्भर अर्थतन्त्र र समाजवादी ल्याउन पार्टी लागिपरेको उनले बताइन् ।
यसैगरी पार्टी स्थायी कमिटी सदस्य बिरोध खतिवडाले समाजवादी पार्टीले खरायोको गतिमा हैन कछुवाको गतिमा दौड जारी राखेको बताए । समाजवादी सबैभन्दा त्यागी पार्टी भएको उनले बताए । गठबन्धनमा भएको सहमति कार्यान्वयन नभएमा समाजवादीले पनि आÇनो क्षमता देखाउने उनले बताए ।
कार्यक्रममा बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद खनालले पार्टी जनताको आधारभुत तहसम्म पुग्नुपर्ने भएकोले यसतर्फ ध्यानाकर्षित हुन आग्रह गरे । कार्यक्रममा पार्टी जिल्ला इन्चार्ज मुनु सिग्देल तथा जिल्ला अध्यक्ष बिष्णु दाहालले समाजवादी पार्टी सामाजिक हितका लागि जनताको साथमा रहेको बताए ।
कार्यक्रममा २०४६ को जनआन्दोलनको घाइतेहरू हेटौंडा ९ निवासी सीता बिडारी, हेटौंडा १७ का रामबहादुर भुजेल, हेटौंडा १७ राजदेबीका बिष्णुप्रसाद ढुंगाना, हेटौंडा १७ का कृष्णप्रसाद नेपाल, कम्युनिष्ट नेताहरु नेता भिम महर्जन तथा हरिप्रसाद सिग्देल र मकवानपुरका विभिन्न सन्चार गृहहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादीका नेताहरुले समेत शुभकामना दिएका थिए । भेलाले पार्टी जिल्ला कमिटीकाे नयाँ नेतृत्व चयन गर्नेछ ।

