मकवानपुर । मकवानपुरको हेटौंडामा रहेकाे महिलाहरुको साहित्यिक सस्था आंचल साहित्य कला पुञ्जले सहीखबरका सम्पादक सरिता दाहालसहित विभिन्न क्षेत्रका ९ जना स्रष्ट्रालाई सम्मानित गरेकाे छ । पुञ्जले शनिबार हेटौंडामा सम्मान बहस रचना वाचन तथा गायन प्रतियाेगिता कार्यक्रम आयाेजना गरी दाहाललगायतलाई सम्मानित गरेकाे हाे ।
ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान २०८० बाट सहीखबर डटकमकी सम्पादक मकवानपुरका दाहाल सम्मानित भएकी हुन् । उक्त सम्मानकाे राशी ७ हजार पाँच सय रुपैयाँ रहेकाे छ । दाहाल २ दशकदेखि मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशील छिन् । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिना लम्साल तथा प्रकाश लम्सालले आफ्नो ससुराबा/बुबाको नाममा स्थापना गरेका उक्त सम्मान एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिदै आएकाे सापकाेटाले बताईन् ।
ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान
२०७५ सालमा कौशल पाण्डे, २०७६ मा नवराज शर्मा, २०७७ मा प्रताप विष्ट, २०७८ मा कृष्णराम परियार, २०७९ मा राममणी दाहाल सम्मानित
यसैगरी हरिवंश भेटवाल र बिजुला भेटवालले स्थापना गरेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान २०८० बाट रौतहटकी स्रष्टा रेणुका जीसी सम्मानित भएकी छिन् । उक्त सम्मानको राशी १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । १ लाख २५ हजारको अक्षयकोषबाट सुरु गरिएको यो सम्मान २०७४ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने नारी साहित्यकार यो सम्मानबाट सम्मानित गरिदै आइएकाे छ । यो सम्मान आँचलमा स्थापना भएको अक्षयकोष सहितको पहिलो सम्मान हो ।
बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान
२०७४ प्रतिमा पाठक, २०७५ रुकु कार्की, २०७६ डा. विन्दु शर्मा, २०७७ ज्ञानु अधिकारी, २०७८ तिर्थदेवी सिलवाल, २०७९ बबि थापा सम्मानित
यसैगरी प्रतिभा धिताल छन्द सम्मान,२०८० बाट नुवाकोटकी साहित्यिक स्रष्टा सुमित्रा सुमी सम्मानित भएकी छिन् । उक्त सम्मानको राशी १० हजार रुपैयाँ रहेको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नी दिदी प्रतिभा धितालको नाममा २०७५ सालमा स्थापना गरेकाे उक्त सम्मान एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष छन्दमा कलम चलाउने नारी साहित्यकारलाई प्रदान गरिदै आइएकाे सापकाेटाले जानकारी दिइन् ।
प्रतिभा धिताल छन्द सम्मान
२०७५ मा बुनु लामिछाने, २०७६ मा प्रभा भट्टराई, २०७७ मा कृष्णदेवि शर्मा, २०७८ मा भुषिता वशिष्ठ, २०७९ टीका आत्रेय सम्मानित
टीकादत्त-मायादेवी-कुलकुमारी साहित्यिक सम्मान-२०८० बाट काठमाडौैकी स्रष्टा प्रभा बराल सम्मानित भएकी छिन् । उक्त सम्मानकाे राशी ११ हजार १ सय ११ रहेकाे छ । साहित्यकार रुकु कार्की तथा बहिनी प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले पिता तथा माताद्धयको नाममा १ लाख ५० हजारको अक्षयकोषसहित सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो ।
टीकादत्त-मायादेवी-कुलकुमारी साहित्यिक सम्मान
२०७६ मा ललिता दोषी, २०७७ मा निमेष निखिल, २०७८ मा देवराज खरेल, २०७९ मा माधव पोखरेल सम्मानित
यस्तै अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान-२०८० बाट नेत्र एटम (काठमाडौं) लाई सम्मानित गरिएकाे छ । अप्सरा स्मृति सम्मानको राशि १५ हजार एक रुपैयाँ रहेको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिनाको नाममा उनका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले १ लाख ९० हजार रुपैयाँको अक्षयकोषसहित सुरु गरिएकाे उक्त सम्मान साहित्यको क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने व्यक्तिलाई प्रदान गरिने गरिएकाे हाे ।
अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान
२०७६ मा मकवानपुरका आरसी रिजाल, २०७७ काठमाडौंका लक्ष्मी माली, २०७८ मा चितवनका सरिता तिवारी, २०७९ मा माया ठकुरी सम्मानित
यसैगरी मंगलादेवि श्रेष्ठ बाल प्रतिभा सम्मान-२०८० बाट बालजागृति इङलिस स्कुलकी प्रसिद्धि लामिछाने सम्मानित भएकी छिन् । मकवानपुरका स्रष्टा लामिछानेलाई ३ हजार ५ सय रुपैयाकाे उक्त सम्मान प्रदान गरिने छ । शिक्षा सेवी देवप्रसाद श्रेष्ठले विद्यालय तहमा अध्ययनरत विशेष प्रतिभा भएका विद्यार्थीहरूलाई प्रदान गरिने गरी उक्त सम्मान स्थापना गरेका हुन् ।
मंगलादेवि श्रेष्ठ बाल प्रतिभा सम्मान
२०७७ मा अमर माविमा अध्ययनरत् प्रज्वल ढुंगाना, २०७८ मा बालजागृति इङलिस स्कुलका ऋत्विक केवि, २०७९ मा जीएस निकेतनका समर्पण न्यौपाने सम्मानित
यस्तै मुक्ति-तारा नवप्रतिभा सम्मान-२०८० बाट मकवानपुरकी स्रष्टा स्वस्तिका बाँनिया सम्मानित भइन् । ५ हजार रुपैया राशीकाे उक्त सम्मानकाे स्थापना २०७७ मा मुक्तिगाेविन्द वैद्य र तारादेवी वैद्यले गरेका हुन् ।
मुक्ति-तारा नवप्रतिभा सम्मान
२०७७ मा प्रसिद्धिका लम्साल, २०७८ मा प्रसन्ना चौलागाई, २०७९ मा कृतिका लौडारी सम्मानित
मकवानपुरका स्रष्टा दीपक गौतमलाई सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८० बाट सम्मानित गरिएकाे छ । १० हजार रुपैया राशी रहेकाे सम्मानकाे संस्थापक चन्द्रकिरण श्रेष्ठ र मेनुका शर्मा हुन् । समाजसेवी श्रेष्ठ र शर्माले २०७७ मा उक्त सम्मान स्थापना गरेकाे हुन् ।
सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान
२०७७ मा सुवास खनाल, २०७८ मा छवी अनित्य, २०७९ मा बाँसुरी वाधक विष्णु बहादुर विश्वकर्मा सम्मानित
यस्तै आँचल सम्मान २०८० बाट हरिवंश भेटवाल सम्मानित भएका छन् । आँचल साहित्य कला पुञ्ज मकवानपुरले प्रदान गर्ने गरेको आँचल सम्मान २०८० मकवानपुरमा रहेर निरन्तर रुपमा साहित्य श्रीवृद्धिका लागि योगदान गर्ने सामाजिक व्यक्तित्व साहित्यसेवी भेटवाललाई प्रदान गरिएकाे हाे । संस्थाको अक्षयकोक्ष स्थापना गरेर सहयोग गर्नुका साथै आफूलेसमेत अक्षयकोष स्थापना गरेर आँचललाई संस्थागत गर्न सघाउ पुर्याउनु भएकाेमा भेटवालकाे कदर गर्दै उनलाई उक्त सम्मानद्वारा सम्मानित गरिएकाे सापाकाेटाले जानकारी दिइन् ।
पुञ्जले स्थापना गरेको ८ वटा पुरस्कार र एउटा सम्मानबाट विभिन्न क्षेत्रमा याेगदान गरेका ९ जना व्यक्तित्वलाई सम्मानित गरिएकाे पुञ्जकी अध्यक्ष सापकोटाले जानकारी दिइन् । आँचल साहित्य कला पुञ्ज मकवानपुरमा रहेको महिलाहरूको कृयाशील संस्था हो । २०६९ सालमा स्थापना भएको संस्थाले मकवानपुरमा रहेर विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।
हरेक महिनाको तेस्रो शनिबार नियमित भेटघाटको कार्यक्रम अन्तर्गत महिलाहरू मात्र जम्मा भएर साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको यस संस्थाले वर्षमा चारओटा वृहत कार्यक्रम गर्दै आइरहेको छ । यस संस्थाले हरेक वर्ष ९ जना श्रष्टालाई फरक फरक सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको सापकाेटा बताउँछिन् ।

