काठमाडौं । जर्मनीको फ्रयान्कफर्टमा कलाकार रन्जु यादवको चित्रकला प्रदर्शनी भएकाे छ । मिथिला चित्रकार रन्जुले शनिबार नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजना गरेकाे नेपाल डेको कार्यक्रममा एकल चित्रकला प्रदर्शनी गरेकी हुन् ।
प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको नेपाली समाजले चित्रकला प्रदर्शनीकाे लागि रन्जुलाई निमन्त्रणा गरेका थिए । उनकाे २४ वटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रुपान्तरणमा आफ्ना चित्रहरुको प्रभावबारे कार्यपत्र समेत प्रस्तुत गरिन् ।
जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवर्धन हुने र यसले फ्र्यान्कफर्टजस्तो अन्तर्राष्ट्रिय सहरमा नेपालको सांस्कृतिक कुटनीतिमा सघाउ पुग्ने बताए । जर्मनीमा मिथिला चित्रकला प्रदर्शनी आयोजना गर्न भूमिका खेलेको नेपाली समाज र चित्रकार यादवमाथि आफूलाई गर्व लागेको राजदूत खड्काकाे भनाइ थियाे ।

नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न सहरबाट कार्यक्रममा सहभागी हुन आएका नेपाली र जर्मन नागरिकले रन्जुकाे चित्रकला प्रदर्शनीलाई अवलोकन गरेका थिए । अध्यक्ष अधिकारीले नेपाली समाजले फ्रयान्कफर्टमा नेपाल डे आयोजना गरेर नेपालबारे जर्मनीमा प्रचारप्रसार गर्नुका साथै दुई देशका नागरिककाे सम्बन्ध सुमधुर बनाउने काम गरेको बताए ।
नेपाल डेको अवसरमा नेपाल, युक्रेन र भियतनामका कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । एक जना बलिउड कलाकारले नेपाली गीतमा प्रस्तुति प्रदर्शन गरेका थिए । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता रन्जु अहिले ३३ दिवसीय युरोप कला यात्रामा छन् । उनले युरोपका चार वटा देशको भ्रमण गर्ने छन् । तर तीन देशमा मात्रै चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ ।

