मकवानपुर । बागमती प्रदेशकाे ३ जिल्लामा भएकाे छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । प्रदेशकाे चितवन, सिन्धुपाल्चोक र रामेछाप जिल्लामा भएकाे विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ ।
प्रदेश प्रहरीका अनुसार चितवन जिल्लाको भरतपुर महानगरपलिका–११, गोर्खाली टोलमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ईच्छाकामना गाउँपालिका–३, धारापानीका ६० वर्षीय भोज बहादुर गुरुङ रहेका छन् । सोमबार दिउँसो गुरुङ घरपैँचो (पुजा) मा आएकोमा घरको भर्याङ चढ्ने क्रममा चक्कर लागेर विरामी भएका थिए । गुरुङलाई उपचारका लागि नयाँ मेडिकल कलेजमा लगिएकोमा साेमबारनै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यसै गरी चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बेलचोकमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीय पुरुषको सनाखत नभएको प्रहरीले जानकारी दिएको छ । सोमबार बाह्रघरेबाट बेलचोकतर्फ जाँदै गरेको ना ६५ प ६२०६ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–९, बसन्तचोक बस्ने ४९ वर्षीय सन्तोष बुर्लाकोटी र मोटरसाइकलको पछाडी सवार मकवानपुरको मनहरी गाउँपालिका–३, का ३३ वर्षीय सुदर्शन अधिकारी र साइकलयात्री घाइते भएका थिए । घाइते तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा साइकलयात्रीको मृत्यु भएको हाे ।
यस्तै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–७, दुवाचौर काफ्लेखोला जंगलमा एक जना पुरुष मृत फेला परेका छन् । प्रदेश प्रहरीका अनुसार स्थानीय ४७ वर्षीय विष्णु बहादुर अधिकारी मृत फेला परेका हुन् । अधिकारी बैशाख १ गतेदेखि बेपत्ता भएकोमा सोमबार बिहान घरबाट ७ सय मिटर पर मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।
प्रदेशकाे रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–२, रोशी राङदहमा एक जना पुरुष मृत फेला परेका छन् । मृत हुनेमा ६६ वर्षीय कृष्ण बहादुर भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । भुजेल आइतबार आफू खुशी घरबाट हिँडेकोमा सोमबार निर्माणाधिन दुगड हाईड्रोपावर लिखु–१ ड्यामको पानीमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि जिरी अस्पताल दोलखा लगिएको छ ।
यसैगरी भरतपुर महानगरपालिका–२९ र देवघाट गाउँपालिका–५ जोड्ने दासढुंगा पुलबाट त्रिशुली नदीमा हामफाल्दा एक जना पुरुष बेपत्ता भएका छन् । उनीसँगै हामफालेकी एक महिलाको भने उद्दार गरिएको बागमती प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार सोमवार बिहान रा ५ प ९९४० नम्बरको मोटरसाइकलमा आएका उनीहरु एकसाथ नदीमा हामफालेका थिए । स्थानीयको सहयोगमा प्रहरीले महिलाकाे उद्दार गरेको हाे । महिला दाङ शान्तिनगर ७ बस्ने ३० वर्षीय सिता चौधरी रहेको प्रहरीले जानकारी दिएकाे हाे । उनको भरतपुर अस्पतालमा सामान्य उपचारपछि सोमवार नै डिस्चार्ज भएको छ । नदीमा हाम फाली बेपत्ता भएका पुरुष दाङ तुलसीपुर–६ बस्ने ५१ वर्षीय खगेन्द्र डाँगी रहेकाे र उनकाे खोजी भइरहेको छ ।

