कुस्मा (पर्वत) । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा झन्डै ९० वर्ष अगाडि पत्ता लागेको ‘गुप्तेश्वर गुफा’ पर्यटनककाे आकर्षक गन्तव्य बनेकाे छ ।
गुफाकाे ऎतिहासिक धार्मिक महत्व बारे अझै प्रचारप्रसार र संरक्षणको लागि स्थानीय सरकार तथा समुदायले पहल गर्नु पर्ने आन्तरिक पर्यटकहरु बताउँछन् । ‘धार्मिक पर्यटनको सम्भावना ज्यादै राम्राे रहेछ, अहिलेको पुस्ताले पौराणिक विशेषलाई बुझ्न सक्ने ठाउँ रहेछ, व्यवस्थापनमा अझै ध्यान दिनु पर्ने मैले महसुस गरे’ मकवानपुरबाट गुफाकाे अवलाेकन गर्न आइपुगेकी हेटाैडा उपमहानगरपालिका वडा २ काे स्वास्थ्य स्वयंसेवीका मिना पराजुलीले भनिन् ।
ऐतिहासिक,धार्मिक, सांस्कृतिक रुपले महत्व राख्ने गुफा कुश्मादेखि करिब पाँच सय मिटर उत्तर र कालीगण्डकी नदीदेखि करिब दुई सय मिटर मात्रै दूरीमा रहेको छ । करिब ७ किमी लम्बाइ रहेको गुफालाई नेपालकै सबैभन्दा लामो गुफाको रूपमा दाबी गरिदै आइएको छ ।
पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउँ भनी यही गुफामा व्रत बस्ने गरेको किंवदन्ती छ। गुफाभित्र पानी रसाइरहेको हुन्छ। बर्षौँ पुराना चट्टानहरू खिएर विभिन्न देवी देवताका आकृतिहरू जस्तै देखिन्छन् । सत्ययुगमा भगवान शिव गुप्त रहेको स्थलको रूपमा मानेर पनि यसको नाम ‘गुप्तेश्वर महादेव गुफा’ नामकरण भयो। किंवदन्ती अनुसार महादेव र पार्वतीबिच विवाह भएपछि दुवै जना केही समय यही गुफामा गुप्त बास बसेकोले यो गुफालाई ‘गुप्तेश्वर महादेव गुफा’ भनिएको भन्ने पनि छ।
हिन्दु धर्मग्रन्थ श्रीस्वास्थानी ब्रतकथा र शिवपुराणमा उल्लेख भएअनुसार परापूर्व कालमा कुशुमपुर र कुुशुम वाटिका (हालको कुश्माबजार) मा प्रशस्त फलफूल र कुश पाइन्थ्यो। अत्यधिक मात्रामा फलफूल र कुश पाइने कुशुमपुरबाट फलफूल र कुश टिपेर हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव पति पाउँ भनी पाङस्थित पार्वती गुफामा समेत तपस्या गरेको किंवदन्तीमा पाइन्छ।
सोही धार्मिक विश्वासका साथ महााशिवरात्री, बाला चतुर्दशी, श्री स्वस्थानी ब्रतकथा अवधि, राम नवमी अन्य हरेक चाडपर्वको साथै प्रत्येक एकादशी र सोमवारका दिन गुफामा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। गुफा दर्शन गर्न जानेहरूको लागि गुफाभित्रै हिँड्नका लागि फलामे बाटो र विद्युतीय उज्यालोको व्यवस्था गरिएको छ।

गुफाको लम्बाई करिब पाँच किलोमिटर रहेको भनिए पनि करिब सात सय मिटर भित्रसम्म मात्रै पुगेको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका ईश्वरीप्रसाद आचार्य बताउँछन । उनका अनुसार त्यो भन्दा अगाडि जान कठिन रहेको छ । तहतह परेर बनेको उक्त गुफाको करिब एक सय मिटर भित्रसम्म रहेको सुमेरु पर्वत र पञ्च पाण्डवको क्षेत्रसम्म विद्युत् जडान गरिएको छ।
उक्त स्थानसम्म सहज रूपमै भित्र जान सकिन्छ। पञ्च पाण्डवको क्षेत्रमा गुफाको निकै सानो भएकाले सानो शरीर भएका व्यक्तिहरू घसारिएर मात्रै भित्र जान सक्छन्। उक्त स्थान पार गरेपछि भने फेरि फराकिलो बाटो रहेको देखिन्छ । त्यहाँबाट छिर्न नै कठिन हुने र सामग्रीहरू लैजान पनि कठिन हुने भएकाले त्यसपछिको भागमा विद्युत् जडान गरिएको छैन ।
२०१५ सालमा राजा महेन्द्रबाट उक्त गुफाको दर्शन गरेपछि गुप्तेश्वर गुफालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न थालिएको हो। आन्तरिक पर्यटकको मात्रै आकर्षक रहदै आएको गुफा कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जी जम्पबाट केही मिटरको दूरीमा रहेको छ ।
पर्याप्त प्रचारप्रसारको कमीले बाह्य पर्यटकहरू भने आकर्षित हुन सकेका छैनन्। पर्वत सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका-४ रहेको गुप्तेश्वर गुफा लाई नेपालकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा बिकास गर्ने तयारी स्वरुप गुफासम्म जाने सिढीबाटो निर्माणको चरणमा रहेको छ।

