मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल विहीबार हुनेछ । फाइनलमा स्थान बनाएका मच्छिन्द्र र सशस्त्र प्रहरी बलको एपीएफले उपाधी जित्ने आ–आफ्नै दाबी गरेका छन् ।
प्रतियाेगिता अन्तरगत बुधबार प्रि म्याच कन्फ्रेन्समा मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधी जित्नका लागि तयारी गरिएकाे बताए । खेलाडीहरु शारीरिक रुपमा ठिक भएकाले निर्धारित ९० मिनेटभित्र गोल गर्ने र उपाधी जित्ने तयारी गरेको न्यौपानेले दाबी गरे । यस्तै, एपीएफका म्यानेजर सुशील अधिकारीले आफ्नाे टिमले उपाधी जित्नेमा विश्वस्त रहेकाे बताए । जित्नका लागि नै प्रतियोगितामा सहभागिता जनाउने भएकाेले आफूहरु पनि जित्नकै लागि फाइनलसम्म आएको बताए ।
एपीएफले केही समय अघि मात्रै एपीएफले छैठौ संस्करणकाे मकवानपुर गोल्डकप हात पारेकाे थियाे । यसैगरी मच्छिन्द्रका कप्तान उत्सव राईले यो पटक उपाधी जित्ने लक्ष्य रहेको बताए । मच्छिन्द्रले यो सिजनमा तीन वटा मोफसलका प्रतियोगितामा हार ब्यहाेरेकाे थियाे । यो पटककाे बागमती गोल्डकपकाे उपाधी भने हात पार्ने उनले बताए । यस्तै, एपीएफका कप्तान सुशील अधिकारीले मकवानपुर गोल्डकप जितेर आत्मबल बढेकाले बागमती गोल्डकप समेत जित्ने दाबी गरे । दुवै टोली पहिलो पटक बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
यस्तै, बागमती खेलकुद विकास समितीका सल्लाहकार एवम् पुर्व खेलकुद विकास समितीका अध्यक्ष अरुण बलले सहरकेन्द्रीत मात्रै फुटबल प्रतियोगिता भइरहेको अवस्थामा गाउँ–गाउँबाट नै खेलाडी उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आइरहेको बताए । उनले खेलाडी उत्पादनका लागि फुटबल प्रतियोगिता गरिरहनु पर्ने बताए ।
बागमती खेलकुद विकास समितीका उपाध्यक्ष मुक्ति लामाको सभाध्यक्षतामा भएको प्रि म्याच कन्फ्रेन्समा बागमती–४ का वडाध्यक्ष दन्तलाल माझी र मकवानपुर जिल्ला फुटबल संघका सदस्य आषिश थापा लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँ र उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
बागमती गोल्डकपको पहिलाे संस्करणकाे उपाधि हरिहरपुरगढी सिन्धुलीले हात पारेकाे थियाे । दोस्रो संस्करणकाे उपाधि सरस्वती युवा क्लब काठमाडौंले जितेकाे थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लब ललितपुरले प्राप्त गरेको थियो । प्रतियोगिताको चौथो संस्करण उपाधि थ्री स्टार क्लबले हात पार्दा पाचौं संस्करणको उपाधीकाे विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिका भएकाे थियो । यस संस्करणमा भने उक्त क्लबले सहभागिता जनाएको छैन ।

