मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा १८ मा रहेको मुर्ति पार्क अझै हराभरा र आकर्षक हुने भएको छ । यसै आर्थिक वर्षमा सवा करोड बजेटको निर्माण थपिने भएकाे छ ।
मुर्तिहरुको बगैंचाको रुपमा अझै विकास गर्नको लागि स्थानीय तहको वडा सरकार लागिपरेको छ । पिकनिक स्टलबाहेक मुर्ति पार्क घुम्नको लागि अहिले प्रवेश निःशुल्क छ । यसै आर्थिक वर्षमा यो पार्कमा कम्पाउण्ड घेराबारा, बगैंचाको व्यवस्थापन, प्रवेशद्वारमा सेल्फि स्थल बनाउन लागिएको वडा अध्यक्ष अनिल बानियाँले बताए ।
यसै आर्थिक वर्षमा बागमती प्रदेश सरकार र उपमहानगरपालिकाको बजेटबाट गुप्तेश्वर मन्दिर निर्माण, पार्कको प्रवेशद्वारमा सेल्फि बगैंचा स्थापना, कम्पाउण्ड घेरावारालगायतको क्रममा सवा करोडको काम हुने वडा अध्यक्ष बानियाँले बताए । “अहिले पार्कको प्रवेशद्वार दायाँबायाँ पुष्प बगैंचाको निर्माण गरी सेल्फि पोइन्ट बनाउने योजना छ” बानियाँले भने “कम्पाउण्डभित्र रहेको कैलाश पर्वत नजिकै आकर्षक बगैंचा निर्माणाधिन छ ।”
यो क्षेत्रमा अहिले धमाधम काम भइरहेको उनले बताए । पहिलो पानीको समस्याको कारण पुष्प बगैंचाको व्यवस्थापन गर्न समस्या रहेकोमा अब पानी पर्याप्त छ । यस आर्थिक वर्षमै मन्दिर निर्माण, कम्पाउण्ड निर्माण पुष्प बगैचा निर्माण, सेल्फि पोइन्ट निर्माण गर्न लागिएको हो । यसले पार्कको लुक्स अझै बढाउने अपेक्षा गरीएको छ । पार्कमा फुटपाथ निर्माणपछि पार्क झनै आकर्षक बनेको छ ।

निर्माण कार्यकाे अनुगमनकाे क्रममा वडा अध्यक्ष अनिल बानियाँ
झण्डै ४० लाख खर्चेर ललितकला अनुसन्धान स्थलको रुपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको मूर्तिपार्कमा २३ वटा मुर्तिहरु छन् । नेपालमै पहिलो पटक मकवानपुर जिल्लाको हर्नामाडी गुम्बा डाँडामा अन्तराष्ट्रिय मूर्तिकला महोत्सव आयोजना गरी यि मुर्तिहरु कोरीएका थिए । नेपाल सहित विभिन्न ६ राष्ट्रका २३ जना कलाकारहरुले ढुङ्गामा कुदेका हुन् ।
मुर्तिहरु मार्फत प्रकृतिका अनेकन रुपहरु र मानवीय शक्ति देखाउने जमर्को गरीएको छ । इटालीका मुर्तिकार बेटीनो फ्रान्सीनीले विश्वको पहिलो आमाको परिकल्पना गरी ढुङ्गाको मुर्ति बनाएका छन् । जसलाई मुर्तिपार्कको मध्यभागमा राखिएको छ । यसैगरी दक्षिण कोरियाका मुर्तिकार शीम जूम् शूले औद्योगिक वातावरणको परिकल्पना गरि एउटै ढुङ्गामा कलाको प्रस्तुति गरेका छन् ।
जापानका मुर्तिकार सूगीमोतो जुन यूचीरोले प्रकृतिमा पुष्ट छिप्पिएको भटमासको कोसा बनाएका छन् । यसैगरी मकवानपुरका स्थानीय कलाकारहरु लक्ष्मण भुजेलले उत्सुकताको मुर्ति र अर्का स्थानीय कलाकार ओमभक्त भण्डारीले भगवान गणेश एवम् कछुवाको स्वरुपको मुर्ति बनाएका छन् । यसैगरी रुपन्देही जिल्लाका बुद्ध थारुले ढुङ्गाको आकारलाई कुदेर “बुद्धको अर्थ आकार एवम् अष्टमंगल” बनाएका छन् ।
यसै आर्थिक वर्षभित्र पार्कमा उपमहानगरपालिकाको आफ्नै बजेटबाट फूलबारीको लागि ८ लाख लगानी हुँदैछ । यसैगरी बागमती प्रदेश सरकारको ३० लाख लगानीबाट दुप्चेश्वर मन्दिर निर्माण हुँदै छ । यसैगरी प्रदेश सरकारकै १५ लाख लगानीमा कम्पाउण्ड बन्ने छ भने ६५ लाख बजेटमा ललितकला आर्टको संरक्षणार्थ आधुनिक संरचनायुक्त भवन बन्नेछ । यसको लागि डिपीआर सकिएको अध्यक्ष बानियाँले बताए ।
११ विगाहा जमिनमा फैलिएको पार्कमा बुद्ध मुर्तिको स्थापनापछि पर्यटकको चाप झनै बढेको वडा सचिव दिपेन्द्र ढकालले बताए । पिकनिक स्टलको कारण बिदाको दिन आन्तरीक पर्यटकहरुको चाप लाग्ने गरेको सचिव ढकालले बताए ।
कस्तो बन्दैछ मुर्ति पार्क ? वडा अध्यक्ष अनिल बाँनियासँगको कुराकानी

