मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा एकै पटक २ वटा बालविवाह राेकिएकाे छ । मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिको सक्रियतामा हुन लागेको बाल बालविवाह रोकिएको हाे ।
मनहरी गाउँपालिकाबाट कोशी प्रदेश उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ८ मा बालविवाह हुन लागेको सूचना पाएपछि मनहरीका जनप्रतिनिधि र सरोकारवाला निकायको सक्रियतामा उक्त विवाह रोकिएको छ । मनहरी गाउँपालिका वडा ८ र ५ काे २ वटा बाल विवाह राेकिएकाे हाे ।
माघ १४ गते गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अर्याल, सिविन नेपाल मकवानपुरका संयोजक झविन्द्र ज्ञवाली, बाल अधिकार समिति मनहरीका सदस्यहरु देवकी ढुङ्गाना, अस्मिता कार्की, बाल सञ्जालका सल्लाहकार अन्जन सापकोटा उदयपुर गएर त्यहाको जनप्रतिनिधिसँग समन्वय गरी घरमा पुगेर परिवारलाई सम्झाई बुझाई गरेर बालिकालाई १८ माघमा घर फर्काइएको थियो ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं.५ की १६ वर्षीया बालिका र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ८ का २१ बर्षिय युवा बिच भएकाे विवाह राेकिएकाे हाे । सामाजिक सञ्चालबाट प्रेम सम्बन्धमा पुगेका उनीहरु मनहरीबाट पुष २५ गते भागेर उदयपुर पुगेका थिए । २७ गते मनहरी बालसञ्जालले जानकारी पाएर वडा र गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएपछि खोजी भएको थियो ।
यसैगरी गाउँपालिकाबाट बारा जिल्ला सिम्राैनगढ विवाह हुन लागेकाे बालिकालाई पनि जनप्रतिनिधि र बाल हेल्पलाइनकाे सक्रियतामा राेकिएकाे छ । दुबै बालिकाहरु अहिले अभिभावक र संस्थाकाे संरक्षणमा रहेका छन् ।
उमेर नपुगेकाले उमेर पुगेपछि मात्रै विवाह गर्न परिवारले बालिकालाई बुझाउने प्रयास गरे पनि बालिकाले आत्महत्या गर्ने धम्की दिएको र पछि मनहरीबाट उदयपुर भागेको पारिवारीक स्रोतले जानकारी दिएको छ । नेपालमा २० वर्षभन्दा कम उमेरमा गरिने जस्तोसुकै विवाहलाई कानुनले अवैधानिक मानेको छ । गाउँपालिकामा चालु आर्थिक बर्षमा १४ वटा बालविवाह हुँदा ११ वटा बालविवाह रोक्न सफल भएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए । अन्य विवाह बदर गर्न नसकिएकाे बताइएकाे छ ।

