मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी स्थानीय तह शहीद स्मृती गोल्डकपमा धनकुटाको राजारानी क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ। छैटौँ सस्करणकाे प्रतियाेगिता अन्तरगत शुक्रबारकाे खेलबाट नेपाल पुलिस क्लबलाई २-० ले पाखा लगाउँदै राजारानीले क्वार्टरफाइनल स्थान बनाएकाे हाे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा विदेशी खेलाडी अजायी मार्टिन्सको गोलबाट राजारानीले अग्रता लिएको थियो। खेलकाे ६४ औं मिनेटमा सुशिल लामाले गोल गर्दै राजारानीकाे अग्रता दोब्बर गरे । खेलकाे म्यानअफ दि म्याच राजारानीका मार्टिन्स घाेषित भए ।
यसैगरी, शनिबार हुने खेलमा न्यूरोड टिम एनआरटी र चर्च ब्वाइज क्लब भिड्नेछन्। यही माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता भएकाे हाे ।
प्रतियाेगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । गोल्डकपकाे पाँचौँ संस्करणको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेकाे थियो।

