मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी ७ गते हेटौंडा आउने भएका छन् । शाहले हेटौडामा केही महत्वपूर्ण भेटघाट समेत गर्ने बताइएकाे छ ।
बागमती प्रदेशको राजधानी हेटौंडाको धार्मिक क्षेत्रको अवलोकन, भ्रमण र पुजा–आराधनाकाे लागि पूर्व राजा शाह हेटौडा आउन लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनाएको छ । हेटौंडामा पत्रकार सम्मेलन मार्फत राप्रपाले यसबारे जानकारी गराएको हो ।
राप्रपाले पत्रकार भेटमा पुर्व राजा शाहले हेटौडामा उद्योगी व्यवसायीलाई समेत भेट्ने कार्यक्रम रहेको जानकारी गराएको छ । पूर्वराजा शाहलाई हेटौंडामा स्वागत गर्न मूल समारोह समिति, उपसमिति गठन गरिएको छ । राप्रपा नेता तथा प्रतिनिधि सभा सांसद दीपक बहादुर सिंहको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पूर्वराजालाई १ हजार १ सय ११ जनाले स्वागत गर्ने कार्यक्रम तय भएको सिंहले जानकारी दिए ।
पूर्वराजाले हेटौँडा १५ को चुरियामाई मन्दिर, हेटौँडा–१३ पदमपोखरीको ज्याङछुपलिङ पोतला गुम्बा, हेटौँडा–१० को भुटनदेवी मन्दिरमा पैदलयात्रासहित धार्मिक अवलोकन भ्रमण, पुजा–आराधना गर्ने कार्यक्रम रहेकाे पत्रकार सम्मेलनमा बताइएकाे थियाे ।
मकवानपुरको क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य सिंहले राप्रपा संघीयता खारेजीको अभियानमा रहेको बताए । पुर्वाधार विकास समिति सभापति समेत रहेका सिंहले विकास निर्माणका नाममा घुसखोरी बढेकोले यसको खबरदारी राप्रपाले गरिरहेको बताए ।

