मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ कमानेमा जारी ८ ए साइड फुटबल प्रतियोगितामा बुधबार भएको खेलबाट सेमिफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगिता अन्तरगत बुधबार भएको क्वाटरफाइनलको खेलबाट रामनगर युवा क्लब र फायरलाइन एफसी बिजय हुँदै सेमिफाइनल प्रवेश गरे ।
हेटौडा ८ कमाने स्थित चन्द्रोदय स्कुलको खेलमैदानमा जारी (U-60Kg) ८ ए साइड नक आउट फुटबल प्रतियोगिता अन्तरगत समाज कल्याण र राम नगर युवा क्लब बिच भएको क्वाटरफाइनल खेलको निर्धारित समय १-१ गोल बराबरी पछि ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा राम नगर युवा क्लबले समाज कल्याणलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।
यसैगरि बुधबार भएको दोश्रो क्वाटरफाइनल खेलमा फायरलाइन एफसीले मर्निङ एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
यस अघि मंगलबारको भएको क्वाटरफाइनल खेलमा जीत निकाल्दै हुप्रा र कर्णावती सेमिफाइनल प्रवेश गरेका थिए । हुप्रा सिटीले देवनगरलाई १-० गोल अन्तरले हराउदै सेमिफाइनल यात्रा तय गरेको हो भने आयोजक कर्णावतीले कालिकामाईलाई १-० गोल अन्तरले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
प्रतियोगिता अन्तरगत विहीबारबाट सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ । विहीबार हुने सेमिफाइनलको पहिलो खेल दिउँसो १ बजे हुप्रा सिटी र फायरलाइन एफसी बिच हुने छ भने दोस्रो खेल दिउँसो ३ बजे कर्णावती र राम नगर युवा क्लब बिच हुनेछ ।
कर्णावती युवा क्लबको आयोजना भएको (U-60Kg) ८ ए साइड नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता उपाधि विजेता टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

