मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेटको आकार बढेको छ । शनिबार भएकाे १४औं नगरसभामा उपमहानगरपालिकाकाे आर्थिक वर्ष २०८०/०८१ को बजेट आकारमा २२ करोड २ लाख ५५ हजार रुपैयाँ बढाएर नगर उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेका हुन् ।
गत असार २ गतेकाे १३ औं नगरसभाकाे अधिवेशनमा उपमहानगरपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ काे बजेट संशोधन गर्दै आकार बढाइएको हो । उपमहानगरपालिकाले १३ औं नगरसभामा २ अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएकाे थियाे । गत असार १६ गते पारित उक्त बजेटमा संशोधन गरी २ अर्ब ९० करोड ६२ लाख ६५ हजार रुपैयाँकाे सिमामा पुर्याइएकाे हाे ।
आन्तरिक राजश्व संकलनमा देखिएको प्रगतिको आधारमा चालु आर्थिक बर्षको संसोधित बजेटमा २२ करोड २ लाख ८० हजार बजेट थप भएकाे हाे । चालु आर्थिक बर्षको ६ महिनाको राजश्व संकलनमा लक्ष्य अनुसारको आधा पुरा भैसकेको बजेट प्रस्तुतिका क्रममा उपप्रमुख बानियाँले बताए । चालु आर्थिक वर्षको लागि कुल ३० करोड ९४ लाख राजस्व लक्ष्य राखेकोमा पौष १५ गतेसम्म १५ करोड ४५ लाख रुपियाँ रकम संकलन भएको प्रतिवेदनमा उल्लेख छ । अहिलेसम्म ५० प्रतिशत राजश्व संकलन भएको र गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालू आर्थिक वर्ष ८ प्रतिशतले राजस्व संकलन वृद्धि भएको हाे ।
आय व्यय अनुमानमा सशर्त बजेट,अघिल्लो वर्षको मौज्दात र रकमान्तर समेत थप भई २ अर्ब ७५ करोड ७६ लाख ६५ हजार रुपैयाँ वास्तविक आय कायम भएको हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिए । गत वर्ष सम्झौता भई ३१ करोड रुपैयाँ भन्दा बढी जिम्मेवारी सरेका आयोजनाहरूको रकम भुक्तानीका लागि चालु आर्थिक वर्षको बजेटमा १० करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा अधिकांशको भुक्तानीका लागि रकम अभावका कारण भुक्तानी रोकिएकोले समेत बजेट आकार बढाइएकाे बानियाँले प्रस्तुत गरेको संशोधित बजेटमा उल्लेख छ।
प्रस्तुत संशाेधित अनुमानमा पूर्वाधार क्षेत्र तर्फ नगरस्तरीय ६२ आयोजना र वडास्तरीय ९ सय ५६ आयोजना गरी जम्मा १ हजार १ सय १८ योजना रहेकोमा हालसम्म नगरस्तरीय १५ वटा आयोजना र वडा स्तरीय २ सय १७ वटा योजना सम्झौता भैसकेको उल्लेख छ । सम्झौता भएका योजना मध्ये ३२ वटा सम्पन्न भएको र अन्य ९ सय ८६ वटा आयोजना कार्यान्वयनको चरणमा रहेको बताइएको छ ।
गत आर्थिक वर्षको जिम्मेवारी सरी आएका योजनाहरु मध्ये १ सय १० वटा योजनाहरु सम्पन्न भई सकेका छन् भने ६१ वटा सम्पन्न हुने क्रममा रहेका उल्लेख छ । पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगति तर्फ प्रथम चौमासिकमा कंक्रिट सडक २ किलोमिटर, कालोपत्रे ३५५ मीटर, शैक्षिक पूर्वाधार तर्फ १ वटा, सांस्कृतिक जगेर्ना तर्फ गुम्बा निर्माण तर्फ २ वटा, मन्दिर निर्माण तर्फ ५ वटा, मदरसा १ वटा र यात्रु प्रतिक्षालय १ वटा निर्माण भैसकेको उल्लेख छ ।
नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको १४ औं नगरसभाले स्थानीय समुदायको आर्थिक अवस्था सुधार ल्याउन लघु उद्यमिले उत्पादन गरेका गुन्द्रुक, मस्यौरा लगाएका खाद्य पदार्थलाई ब्राण्डिंग गरी बजारीकरण गर्ने र स्थानिय स्तरमा उत्पादन हुने मौलिक तथा रैथाने कृषि उपजलाई प्रवद्र्धन गर्न होटल एशोसिएशनसँग समन्वय गरी नगरका सबै होटलका खाना सुचिमा समावेश गराउने प्रस्ताब पास गरेको छ ।
सभाले उपमहानगरमा आयआर्जन र समृद्धि कार्याक्रम सञ्चालन गरी बेरोजगार रहेका युवाहरुलाई सिपमार्फत प्रत्यक्ष रोजगारीमा जोड्ने कार्यक्रम सञ्चालन गर्न अध्ययन गर्ने प्रस्ताब पास गरेको छ । उपमहानगरक्षेत्रमा प्रर्यटकको आगमन बढाउँनका लागि बाह्य जिल्ला र भारतको पटना लगाएत बिहारका अन्य शहरसँग सस्थागत रुपमा प्रर्यटन प्रवद्धनका लागि आवश्यक सम्वाद र छलफल अघि बढाउने प्रस्तिाब सर्वसम्मत स्विकृत गरको छ । सभाले संसोधित नीति, कार्यक्रम तथा बजेट एवम् बिभिन्न ऐनहरु सर्वसम्मत पारित गरेको छ ।
पहिलाे पटक नगरसभा बजार क्षेत्र बाहिर
हेटौडा उपमहानगरपालिकाकाे १४ औं नगरसभा हेटौडा १८ स्थित गुम्बा डाँडामा गरिएकाे छ । पहिलाे पटक उपमहानगरपालिकाकाे नगरसभा बजार क्षेत्र बाहिर गरिएकाे हाे ।


