मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी बृहत खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) काे पोल्टामा परेकाे छ । सोमबार भएको फाइनल खेलमा चन्द्रागिरी न्यू डायमण्ड क्लबलाई ३–१ सेटले हराउँदै एपीएफले उपाधि माथि कब्जा जमाएकाे हाे ।
केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको विजेता एपीएफले उपाधिसहित दुईलाख रुपैयाँ हात पारेकाे छ । एपीएफले न्यू डाइमण्डलाई २५–१९, २०–२५, १७–२५ र २३–२५ को सेटमा हराएको हो । उपविजेतामा चित्त बुझाएकाे न्यु डाइमण्डले एकलाख रुपैयाँ हात पारेकाे छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक विजय केसी र उत्कृष्ट सर्भर एपीएफका सरस्वती चौधरी हुँदा बाँकी विधागत उत्कृष्ट खेलाडीको पुरस्कार न्यू डाइमण्डले प्राप्त ग¥यो ।
उत्कृष्ट स्पाइकर जेनिसा विश्वकर्मा, ब्लकर सुमित्रा रेग्मी, डिफेण्डर सलिना श्रेष्ठ र सेटर प्रगती नाथ घोषित भए । सर्वोत्कृष्ट खेलाडीले १५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । ५ वटा टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन भएको थियो । एपीएफ ११ अंकका साथ समूह विजेता र न्यू डाइमण्ड १० अंकसहित समूह उपविजेता हुँदै फाइनल खेलेका थिए । समूह चरणको अन्तिम खेलमा न्यू डाइमण्डले त्रिभुवन आर्मीलाई र एपीएफले नेपाल पुलिस क्लवलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । समूह चरणको खेलमा समेत न्यू डायमण्ड एपीएफसँग २–३ को सेटमा पराजित भएको थियो ।
प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले ५०/५० हजार रुपैयाँ प्राप्त गरेको छ । विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताव विष्ट, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौला, हेटौडा उपमहानगरपालिकाका वडा अध्यक्षलगायतले पुरस्कार वितरण गरेका हुन् ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा हेटौंडामा आयोजना गरेको बृहत खेलकुद तथा व्यापार महोत्सवमा भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले पुष १३ गतेबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।प्रतियोगितामा तीन विभागीय टोली सहति ५ टिमको सहभागिता रहेको थियो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौंडा उपमहानगरपालिका तथा जिल्लाका अन्य पालिकाहरुकाे समेत सहयोगमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो ।

