मकवानपुर । मकवानपुरको हेटौंडामा भएको प्रधानमन्त्री कप क्रिकेट टिम छनौट प्रतियोगिताको उपाधी मकवानपुर क्रिकेट क्लबले जितेको छ ।
मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा बृहत खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत भएको प्रधानमन्त्री कप क्रिकेट टिम छनौट प्रतियोगिताको उपाधी मकवानपुर क्रिकेट क्लबले जितेको हो।
विहीबार भएको फाइनल खेलमा ओमनगर क्रिकेट क्लवलाई ३९ रनले पराजित गर्दै मकवानपुर क्रिकेट क्लबले उपाधी हात पारेको हो । सुरुमा ब्याटिङ गर्न मैदान उत्रेको मकवानपुर क्रिकेट क्लवले निर्धारित ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा सम्मानजनक २ सय २३ रन बनाएको थियो ।
मकवानपुरका लागि सुमन सुनारले ७५ रन र रिजन ढकालले ५२ रन बनाए । ओमनगरको तर्फबाट रोहित ठाकुर र पियुष शर्माले समान २/२ विकेट लिए । २ सय २४ रनको लक्ष्य पाएको ओमनगर ३८ ओभरमा अलआउट हुँदै १ सय ८४ रनमै सिमित बन्दा मकवानपुर बिजयी भएको हो । ओमनगरको लागि गौरभ खड्काले ८७ रन र शुभ कंसाकारले ४२ रन बनाउन सफल भए । मकवानपुरको तर्फबाट समिर चौलागाईले ३ विकेट हात पार्न सफल भए ।
प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याच रिजन ढकाल घोषित भए भने बेष्ट ब्याट्स म्यान गौरभ खडका, बेष्ट बलर समिर चौलागाई र प्रतियोगिताको प्लेयर अफ द सिरिलज तक्षक सिम्खडा घोषित भए । प्रतियोगितामा सहभागी भएका प्रतियोगीको खेल प्रदर्शनीका आधारमा मकवानपुरबाट १८ जना खेलाडीहरुलाई दोस्रो चरणको छनोट प्रतियोगितामा प्रदेश पठाउने प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्रीले जानकारी दिए । गत वर्षको प्रतियोगितमा मकवानपुरबाट रामनरेश गिरी, गौरव खड्का, रिजन ढकाल र शुभ कंसाकार छनोट भएका थिए । छनौट प्रतियोगितामा ५ वटा टिमले सहभागिता जनाएका थिए ।
मकवानपुर क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेष खड्की लगायतले पुरस्कार वितरण गरेका हुन् ।

