मकवानपुर । मकवानपुरकाे मनहरी स्थित पशुपतिनाथ माविमा गरिएकाे आँखा जाँचबाट ११ प्रतिशत अभिभावकहरुमा माेतियाबिन्दु भेटिएकाे छ ।
मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा बिहीबार भएको आँखा परीक्षण शिविरमा १९८ जनाले परीक्षण गराउँदा ११ प्रतिशत अर्थात २२ जानमा माेतियाबिन्दु भेटिएकाे हाे । माेतियाबिन्दु भएकाहरु ५० वर्ष उमेर नाघेकाहरु बढी भएकाे विद्यालयका प्रध्यानाध्याक भानुभक्त आचार्यले बताए ।
शिविरमा बनकरिया, तामाङ, चेपाङलगायतका समुदायका आँखाका रोगीले आँखा परीक्षण गराएका थिए । हेटौंडा सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीको टोलीद्वारा आँखा परीक्षण गरेको हो । रोटरी क्लब अफ मकवानपुर, रोट्रयाक्ट क्लब अफ हेटौंडाको समन्वयमा भएको आँखा परीक्षण शिविरमा २२ जना मोतियाबिन्दुको रोगी फेला परेका विद्यालयका प्रध्यानाध्याक आचार्यले बताए ।
सामुदायिक आँखा अस्पताल हेटौंडामा नि:शुल्क शल्यक्रिया गर्ने तयारी भएको रोटरी क्लबका कार्यक्रम संयोजक उमाप्रसाद रौनियारले बताए । मोतियाबिन्दुका कारण आँखा देख्न नसक्ने भएका ग्रामीण क्षेत्रका बिपन्न बर्गका नागरिकलाई मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गरिदिने रौनियारले बताए । शिविरमा विद्यालयमा अध्ययनरत बालबालिकाले पनि आँखा परीक्षण गराएका थिए ।
रोटरीले क्लब मकवानपुरले जिल्लाका बिभिन्न ग्रामीण क्षेत्रमा नि:शुल्क आँखा परीक्षण शिविर संचालन गर्दा मोतियाबिन्दुका रोगीको नि:शुल्क शल्यक्रिया गरेर सहयोग गरिरहेको रोटरी क्लवका निर्वाचित अध्यक्ष प्रकाश ढकालले बताए ।
पशुपतिनाथ माविमा सञ्चालित आँखा परीक्षण शिविरमा मनहरी–४ का वडाअध्यक्ष प्रकाश थापा, मनहरी गाउँ कार्यपालिका सदस्य मीरा खत्री, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधब गौतम, रोटरी क्लब र रोट्रयाक्ट क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

