मकवानपुर । मानवसेवा आश्रम ७९ लाख ४४ हजार रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्ष २०७९।०८० काे आयव्यय सार्वजनिक गर्दै आश्रम ७९ लाख ४४ हजार ७ सय ५३ रुपैयाँ घाटामा रहेको जानकारी दिएकाे हाे ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका –९ स्थित मानवसेवा आश्रमले आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण र प्रगति प्रतिवेदन सार्वजनिक गरी कुल सम्पत्ति २१ करोड २४ लाख ५२ हजार ६७१ रुपैयाँ रहेको जनाएको छ । आश्रमले दानबाट सबै भन्दा बढी २ करोड ४७ लाख ५६ हजार १५० रुपैयाँ आम्दानी गरेकाे जनाएकाे छ । यसैगरी अन्य दान, चन्दा तथा सहयोगबाट ४४ लाख ९० हजार ८९३ रुपैयाँ आम्दानी गरेकाे हाे । याे समेत आश्रमकाे २ करोड ९२ लाख ४७ हजार ४३ रुपैयाँ आम्दानी गरेको जनाएको लेखा प्रमुख अस्मिन गौतमले जानकारी दिए ।
गत आवमा आश्रमको खर्च ३ करोड ७१ लाख ९१ हजार ७ सय ९७ रुपैयाँ भएको गौतमले बताए । आश्रमलाई सरकारी कार्यालयबाट भौतिक निर्माण तथा व्यवस्थापनको लागि २ करोड ४ लाख ९४ हजार ५ सय ७७ रुपैयाँ प्राप्त भएको बताइएकाे छ । नेपथ्य कार्यक्रम–२०८० मा ४४ लाख २५ हजार ५१९ रुपैयाँ आम्दानी भएको गौतमले जानकारी दिए। हाल ३ करोड ६३ लाख ३२ हजार ३१ रुपैयाँ आश्रमको अक्षयकोष तथा वार्षिक भोजन सेवा कोषमा रहेको छ ।
आयव्यय सार्वजनिक कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले विभिन्न कारणबाट सडकपेटी र सार्वजनिक स्थलहरुमा जीवन विताउन बाध्य भएका अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, सडकआश्रित मानवहरुको उद्दार, परामर्श, औषधोपचार एवम् पारिवारिक पुनर्मिलन गराउँदै आएको जानकारी दिए । ‘हामीले साप्ताहिक रुपमा सडक अवलोकन, सहयोगापेक्षीहरुको खोजी, उद्धार, संरक्षण र पारिवारीक पुर्नमिलन कार्य गरीरहेका छौ’ अध्यक्ष अधिकारीले भने स्वास्थ्य शिविर संचालन र बालबालिकाहरुका लागि आश्रम भित्रै अतिरिक्त क्रियाकलापहरु समयसमयमा गर्ने गरेका छाैं ।
बागमती प्रदेश सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणाको तयारीमा रहेको उनले बताए । यसअघि गण्डकी र कर्णाली प्रदेश सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा भइसकेकाे छ ।
बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको मानव सेवा आश्रमले हेटौँडा-९ लामसुरेधापमा आफ्नै भवन निर्माण गरेको छ । करिब १४ करोड रुपैया लागतमा निर्मित उक्त भवनको मङ्सिर ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेकाे अध्यक्ष अधिकारीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, लगायतको उपस्थितिमा भवन उद्घाटन गरिने बताइएकाे छ ।
२०६९ साल भाद्र १३ गते मकवानपुरकाे हेटौंडामा स्थापना भइ शुभारम्भ भएको मानवसेवा आश्रमकाे सेवा ७ प्रदेशको विभिन्न १९ वटा जिल्लाका २४ वटा सेवा केन्द्रमार्फत सञ्चालनमा छन् । बागमती प्रदेशमा ६ वटा, गण्डकी प्रदेशमा ५ वटा, लुम्बिनी प्रदेशमा ४ वटा, मधेश प्रदेशमा ३ वटा, कोशी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एउटा मानवसेवा आश्रम रहेको छ ।
मानवसेवा आश्रम हेटौंडामा २१ जना बालबालिका, ७६ जना महिला र १०७ जना पुरुष गरी २०४ जना आश्रित रहेका छन् । हालसम्म आश्रमले १ हजार ५ सय ८१ जनाको उद्दार गरेकोमा ८ सय ३६ जनाको पारिवारिक पुनर्मिलन भएको, १ सय ८४ जनाको शरीर शान्त, ४ सय २० जनाले स्वेच्छाले आश्रम छोडेको, ५१ जनाको सामुदायिक पुनर्मिलन गरेको र ३४ जनाको पुनउद्दार गरेको छ ।

