खुर्काेट (सिन्धुली । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सुनकोशी मरिण डाईभर्सन आयोजनाको हेडवक्र्स निर्माण क्षेत्रको अवलोकन गरेका छन् । एमालेको मध्यपहाडी राजमार्गको समृद्धिमा लक्षित यो आयोजना प्रमुख रुपमा रहेको छ ।
नेकपा एमालेको झुलाघाट चिवाभञ्ज्याङ मध्यपहाडी राजमार्ग संमृद्धिका लागि संकल्प यात्राका क्रममा ओली नेतृत्वको टोलीले आयोजना स्थलमा अवलोकनका साथै आयोजनाको प्रगतिकाे जानकारी लिएको छ । आयोजनाको काम तिव्र गतिमा भईरहेको आयोजनाले जनाएको छ ।अध्यक्ष ओली प्रधानमन्त्री हुदाँ शिलान्यास गरिएकाे सुनकोशी मरिण डाईभर्सन रामेछापतर्फको आयोजनाको निर्माण स्थलमै केपी ओलीलाई आयोजनाको प्रगति र समस्याका जानकारी समेत गराईएको छ ।
आयोजना प्रमुख मित्र बरालले आयोजनाको २५ प्रतिशत काम सकिएको जानकारी गराए । उनले आयोजनामा बजेटको कमीले कामले तिव्रता लिन नसकेको समेत जानकारी गराए । बरालले आयोजनाको चालु आर्थिक वर्षको बजेट ४ अर्व ३९ करोड ५४ लाख रहेको र यो वर्षको लागि ११ अर्व २७ करोड ९० लाख बजेट आवश्यक भएको बताए । उनले अब आयोजनाले टिविएम लाई समेत रकम तिर्न सक्ने अवस्था नरहेको बताए ।
बरालले सुरुङ निर्माणको काम भने ७८ प्रतिशत सकिएको जानकारी दिएका छन । सुरुङ खन्ने काम करिब साढे १० किलोमिटर सकिएको पनि उनले बताए । भौगोलिक समस्याका कारण सुरुङ खन्ने मेसिन ४ पटक रोकिएको बरालले ओलीलाई जानकारी गराए । चौथो पटक पहरोका कारण १३ दिनदेखि काम रोकिएको पनि उनले जानकारी दिएका छन । कम्पेक्स भौगोलिक अवस्थाका कारण समस्याहरु आईरहेको र यो भुगोलमा टनेल बनाउन सफल भएमा नेपालका सबै भुगोलमा सुरुङ निर्माण गर्न सकिने अनुभव प्राप्त हुने समेत बरालले जानकारी गराएका छन ।
राष्ट्रकै बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण र सञ्चालनले मधेस प्रदेशका आधा दर्जन जिल्लाका कृषि क्षेत्रमा संवृद्ध हुने अपेक्षा गरिएको छ । बरालले बार्षिक बजेटको समस्या, नयाँ आयोजना भएकाले अनुभवको कमी, निर्माण सामग्री ढुवानीमा समस्या, लामो सुरुङ, सवारी साधनको अभाव, स्थानीय मागहरु, मदनभण्डारी राजमार्गको मुआब्जा, मरिण नदी नियन्त्रण, अन्य भौतिक संरचनाहरुको निर्माण लगाएतका समस्याहरु रहेको बताएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम सुनकोशी नदी तर्फबाट धमाधम भइरहेको छ । उक्त आयोजना अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि लगभग २ किलोमिटरमाथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज, १५० मिटर लामो डिसेण्डिङ्ग बेसिन,टनेल इन्ट्री पोर्टल, ५.५ मिटर व्यास भएको १३.३ किमी लामो सुरुङ, सर्ज पण्ड स्विच यार्ड,३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिने छ । सिन्धुली जिल्लामा बनिरहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टनेल बोरिङ मेसिन टिविएम सञ्चालन भएको कुल १४ महिनाको अवधिमा करिब ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको हो ।
आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल रकम ४६ अरब रुपैयाँ विनियोजन गरेको मध्य चालु आर्थिक वर्षसम्म करिब ११ अरब खर्च भइसकेको जनाएको छ । सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य पटेल रमण जेभी ठेकेदार कम्पनीबाट अघि बढाइएको छ भने र ३१ मेगावाट विद्युत् उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणका कार्यहरू सञ्चालन हुन थालेका छन् ।
सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेन्ड पानीलाई बाँध बाँधी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीको किनारमा पुर्याइने गरी आयाेजनाकाे निर्माण हुँदैछ । मरिणमा ६४ मिटर हेडको निर्माणबाट विद्युत् उत्पादन गरी निस्केको पानी मरिन खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ योजनामा प्रयाेग गरिने लक्ष्य रहेकाे बराल बताउँछन् ।
सिचाइ योजनाकाे पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६,६०० हेक्टर र ४५,४०० हेक्टर गरी जम्मा १,२२,००० हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने छ । सुनकोशी मरिन डाइभर्सन आयोजना सुनकोशी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिन खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

