काठमाडाै । जनताको अभिमतबाट एमालेले सरकार बनाएको र देश विकासको अभियान चलाएमा विदेशीकाे कारण एमालेको सरकार हटाउने काम गरिएको नेकपा एमाले अध्यक्ष केपी ओलीले बताए । विदेशीका सामु लम्पसार परेर कम्फरटेबल बनिदिन्छौँ भनेर सरकार ढलाइएकाे उनले आराेप लगाएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेको लक्ष सरकार जानु नरहेकाे तर वर्तमान सरकार आफ्नै कारणले ढल्ने अवस्थामा पुगेको ओलीले बताए । ‘देशले अहिलेकाे गठबन्धनकाे सरकारको गतिविधि थेग्न सक्दैन अध्यक्ष ओलीले भने ‘यो सरकार कसैले ढाल्ने पर्दैन,आफैँ ढल्ने स्थितिमा पुगेको छ ।’ एकीकृत भइसकेको पार्टी पटक पटक फुटाउने काम गरिएको उनले टिप्पणी समेत गरे । नेपाल कम्युनिष्ट पार्टी अदालतले नभई विखण्डनकारीले फुटाउने काम गरेका ओलीले बताए । त्यसैले विखण्डनकारीको पक्षमा नलाग्न ओलीले आग्रह गरे ।
‘एमाले बाहेक वामपन्थी पार्टीमा कुनै कायकर्ता हुनुहुन्छ भने त्यो गलत बाटोमा नहिँड्नुस्, झिँगाको पछि किन लाग्ने फोहोरको डङ्गुरमा जान’, उनले भने । ओलीले अहिले देश गम्भीर अवस्थामा पुगेको बताउँदै त्यसबाट देशलाई फर्काउनु पर्ने र त्यसकै लागि लागि समृद्धिका लागि संकल्प अभियान चलाएको प्रष्ट पारे । ‘देश अप्ठेरो स्थितिमा छ, गम्भीर रोग लागि सकेको छ देशमा’ ओलीले भने । प्रचण्ड र शेरबहादुर देउवाकै कारण शान्ति प्रक्रिया नटुङ्गिएको समेत उनले बताए । पीडितको न्यायको लागि शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्छ भन्ने पक्षमा एमाले रहेको उनले बताए ।
‘जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको छ’ उनले भने ‘यात्राको क्रममा नागरिकले, माया, ममता, स्वागत र आत्मीयपन देखाएका छन् ।’ गौरीशंकरको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशिर्वाद प्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीले बताए । एमालेको यात्राको क्रममा बालबालिकाको प्रयोग गरिएको भनि गरिएको प्रचारको ओलीले कार्यक्रमबाटै आलोचना समेत गरे ।एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएको कारण त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको ओलीले बताए । नेकपा एमाले एउटा राष्ट्रिय लक्ष लिएर अघि बढेकोले त्यसमा बालकदेखि वृद्धसम्मको सहभागिता रहेको ओलीले प्रष्ट पारे ।
अहिले युवालाई देशमा अड्याउनै नसक्ने अवस्थामा रहेको उनले बताए । ‘अर्काको दरबार देखेर धनी हाेइदैन् युवालाई देशमा नै राखेर आफ्नो घर राम्रो बनाउने वातावरण बनाउनु पर्छ’ अध्यक्ष ओलीले भने ‘विभिन्न व्यवसाय सञ्चालन गरेर युवाहरू देश निर्माणको अभियानमा लागाउनु जरुरी छ ।’ राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताको रूपमा काम गर्नुपर्नेमा उनेले जोड दिए । ‘सामाजिक सुधारका अभियान हामीले नै चलाउने हो, अरूले चलाउने होइन’, ओलीले भने ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरिने छ ।

