मकवानपुर । शनिबारबाट हेटौडामा मकवानपुर लिग क्वालिफाइ फुटबल प्रतियोगिता हुने भएकाे छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा नयाँ क्लबबीचको एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियाेगिता हुन लागेकाे हाे ।
संघले बुधबार प्रतियोगितामा सहभागी भएका क्लबका पदाधिकारीहरुको उपस्थितिमा खेलतालिका सार्वजनिक गरिसकेकाे छ भने शुक्रबार पत्रकार भेटघाट गरी प्रतियाेगिताकाे तयारी सम्बन्धमा जानकारी गराएकाे छ । शनिबारदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेल बिहान हेटौंडा–१८ स्थित कमलादेवी युवा क्लब र हेटौंडा–१२ पदमपोखरीस्थित पञ्चशील युवा क्लबबीच हुनेछ । प्रतियाेगिताकाे दोस्रो खेलकाे प्रतिष्पर्धा शनिबार नै हुने भएकाे छ । शनिबार दिउँसो हेटौंडा–१९ को जनहित युवा क्लब र हेटौंडा–१३ को पदमपोखरी एकेडेमीबीच प्रतिष्पर्धा हुनेछ ।
हेटौंडा उपमहानगरपालिका–५ को पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल मंसिर ३० गते हुने आयोजकले जानकारी दिएकाे छ । प्रतियोगिताको उपाधि विजेता र उपविजेताले शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियाेगितामा सहकार्य गरेकाे नारायणी कलेजका प्रिन्सिपल रघुनाथ खरालले जानकारी दिए । जिल्लास्तरीय क्लबको मान्यता दिँदै जिल्ला लिग खेल्न पाउने २ वटा क्लब छनोट गर्न प्रतियोगिता आयोजना गर्न लागेको जिल्ला फुटबल संघले जनाएकाे छ ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने दुई टिम जिल्लास्तरीय टिमको रुपमा छनोट भई जिल्ला लिगमा सहभागी हुनेछन् । आगामी लिगमा दुई वटा टिम घटुवामा पर्ने समेत बताइएको छ । करिब ४ लाख ८५ हजार लागत अनुमान गरिएकाे प्रतियाेगितामा बागमती प्रदेश खेलकुद परिषद् र नारायणी कलेज हेटौडाले सहयाेग रहेकाे छ ।
२०७६ सालपछि एन्फा रेलिगेटेड लिग गर्नुपर्ने नियम लागू भएपछि मकवानपुरले लिग सुरु गरेको हाे । शुक्रबारकाे पत्रकार भेटघाटमा प्रतियाेगिताकाे तयारी पुरा भएकाे बताइएकाे छ भने एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता २०८० प्रतियोगिताकाे नियमावली समेत सार्वजनिक गरिएकाे छ । नियमावली अनुसार प्रतियोगितामा सहभागी हुन मकवानपुर जिल्ला भित्रका आधिकारिक स्थायी बसोबास गर्ने खेलाडी तथा क्लबहरुले मात्र पाउने छन् ।
फिफा नियम अनुसार सन्चालन हुने प्रतियोगिताको फाइनलमा पुगेका दुई टिमका खेलाडिहरुले मकवानपुरको पहिलो रेलिगेटेड जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी हुन नपाउने मकवानपुर जिल्ला फुटबल संघका सदस्य तथा प्रतियाेगिता संयाेजक आलोक स्याङ्तानले बताए । उनका अनुसार प्रतियोगितामा गत सिजन नेपालको हाल राष्ट्रिय टिममा रहेका सिनियर खेलाडि र ए डिभिजन लिग खेलेका खेलाडीहरुले सहभागी जनाउन पाउने छैन तर विभिन्न उमेर समुहमा खेलेका मकवानपुरे खेलाडि भने सहभागी हुन पाउने छन् ।
प्रतियाेगितामा १२ टिमले सहभागिता जनाउने भएका छन् । स्याङ्तानका अनुसार हेटौंडा–१२, पदमपोखरीको पञ्चशील युवा क्लब, बकैया गाउँपालिकाको बकैया युथ क्लब, हेटौंडा–१८ को कमलादेवी युवा क्लब र हेटौंडा–१३ को पदमपोखरी एकेडेमी, हेटौंडा–१९ को जनहित युवा क्लब, हेटौंडा–२ को द रिभाइबल युवा क्लब, हेटौंडा–८ को कमाने फुटबल एकेडेमी र हेटौंडा–१६ को अग्रसर युवा क्लब, हेटौंडा–१६ को ज्ञानज्योति युवा क्लब, हेटौंडा–५ को जनप्रवाह युवा क्लब, हेटौंडा–१५ को सहयोगी युवा क्लब र हेटौंडा–१४ को समाज कल्याण युवा क्लबले सहभागिता जनाएका छन् ।


