मकवानपुर । मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क बिमा गराउने भएकाे छ । विश्व अपाङ्गगता दिवसको अवसरमा राक्सिराङ्ग गाउँपालिकामा गरिएको संवाद कार्यक्रममा अध्यक्ष राजकुमार मल्लले अपाङ्गता भएको व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर निशुल्क स्वास्थ्य बीमा गराइने बताए ।
उनीहरुलाई आयआर्जनको लागि विभिन्न प्रकारको तालिम गराई आत्मानिर्भर बनाउने समेत उनले बताए । आपाङ्गता भएका व्यक्तिलाई संरक्षण तथा सुरक्षा दिनु पालिकाको दायित्व रहेकोले अपाङग कस्तो प्रकारको छ, उसको आवश्यकता अनुसार पालिकाले आयआर्जन गरि जीवन निर्वाहको लागि पालिकाले सहयोग गर्ने उनले बताए । सहभागीहरुले सीपमुलक तालिमको आवश्यकता, स्वास्थ्य तथा दैनिक जीवन निर्वाहको पाटोमा सहयोग र पालिकाको नीति निर्माण गर्ने बेला सक्रिय सहभागी गराउनु पर्ने लगायतका विषयमा जोड दिएका थिए ।
पालिका स्तरीय अपाङ्गता समन्वय समिति गठन
विश्व अपाङ्गता दिवसको अवसरमा राक्सिराङ्ग गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समिति गठन गरिएको छ। गाउँ कार्यपालिका सदस्य चन्द्रमान प्रजाको संयोजत्वमा ११ सदस्यीय अपाङ्गता समन्वय समिति गठन गरिएको हाे । समिति सदस्यहरुमा मंगलबहादुर घलान, संचलाल वाइबा, होम बहादुर पाख्रिन, जितन प्रजा, सुरेश घलान, शंखलाल चेपाङ्ग, शरद स्याङ्गतान, फुलमाया स्याङ्गतान, श्रीकृष्ण प्रजा र सदस्य सचिवमा गाउँपालिकाको महिला तथा बालबालिका शाखाको प्रमुख गोमा पन्थी लगायत रहेका छन् ।अब वडा स्तरको अपाङ्गता समिति गठन र संयोजक तोकिने संयोजक चन्द्रमान प्रजाले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको सम्वाद कार्यक्रममा प्रमुख प्रसशाकीय अधिकृत देवचन्द्र गर्तौला, ठाडेचुरे आधारभूत अस्पतालका मेडिकल अधिकृत डा. गजल पन्त, सामाजिक विकास शाखा प्रमुख गोविन्द अधिकारी, ५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार बाल्पा थिङ्ग, ३ नम्बर वडा अध्यक्ष उत्तम वाइवा लगायतको आतिथ्यता रहेको थियो। राक्सिराङ्ग गाउँपालिकाको आयोजनामा भएको संवाद कार्यक्रमलाई राष्ट्रिय जनवकालत मन्च (नाफान)ले सहजीकरण गरिएको थियो।

