मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका सभापति लालित घलानले टोल विकास संस्थाहरु विकासका साझेदार भएको बताएका छन् । विकासको संयन्त्रलाई बलियो बनाउने आधार नै टोल विकास संस्थाहरु भएको उनले बताएका हुन् ।
हेटौंडा उपमहानगरपालिका ७ र ८ मा स्थापित किरण चोक टोल विकास संस्थाको १२ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा उनले यस्तो बताएका हुन् । शनिबार सम्पन्न बार्षिक साधारणमा हेटौंडा उपमहानगरपालिका सामाविक विकास महाशाखा अधिकृत स्तर सातौ गंगा चौलागाईले टोल विकास संस्थाको जिम्मेवारी र कर्तव्य गहिरो भएको बताइन् । नगरभित्र रहेको ३७० वटा टोल विकास संस्थाहरुले सामाजिक विकासमा गरेको समन्वयकारी भूमिका उल्लेख्य रहेको उनले बताइन् ।
यसैगरी टोलविकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारीले टोल विकास संस्थाहरुले विकासमा सहकार्यसँगै लागु औषध विरुद्ध खवरदारीलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा संस्था अध्यक्ष राजु अधिकारी (यात्री) ले संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्यक्रमहरु प्रस्ताव गरेका थिए । कोषाध्यक्ष गणेशप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन, सचिव रोजिता रिमालले कार्यक्रम प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी किरण चोक आमा समूहका अध्यक्ष सावित्रि अधिकारीले आमा समूह तर्फको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
आमा समूहकी अध्यक्ष सावित्री अधिकारीले समुदायमा असल अभ्यास गर्नका लागि टोल विकास संस्था र आमा समूहले मिलेर काम गरेको बताइन् । टोवि विकास संस्थाको नेतृत्वमा आफूहरुले काम गर्ने मौका पाएको उनले संस्थाप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा हेटौडा ८ नम्बर वडा सदस्य गोरखबहादुर राया, ७ नम्बर वडा सदस्य श्यामसुन्दर परियार, दिनेश राना मगर समेतको उपस्थिति रहेको थियो ।
दर्जनबढी व्यक्ति सम्मानित
किरणचोक टोल विकास संस्था तथा आमा समूहले संस्था र समूहको कार्यक्षेत्रभित्र रहेर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरेको छ । आफ्नो बार्षिक उत्सवमा विभिन्न विधामा गरी दर्जना बढी व्यक्तिलाई सम्मान गरेको हो ।
संस्थामा सदस्य रहेरका ज्येष्ठ नागरिकहरु, संस्थाका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, आमा समूहको संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, खेलाडीहरु, टोल सरसफाइमा उत्कृष्ट व्यक्ति, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बुहारी, उत्कृष्ट उपभोक्ता समिति, तथा संस्थाको प्रगतीमा सहकार्य गर्ने पत्रकारहरुलगायतलाई सम्मान तथा पुरस्कृत गरेको पूर्व अध्यक्ष हेम अधिकारीले बताए ।
टोल विकास संस्थाको संस्थापक अध्यक्ष शंकरप्रसाद अर्याल, पूर्व अध्यक्षहरु नारायण सिं थिङ, हेम अधिकारी, आमा समूहको संस्थापक अध्यक्ष इश्वरी अर्याल, पूर्व अध्यक्ष मुरारी पौडेल, पशुपति जमकट्टेल, सुनिता कुमारी थिङलगायतलाई सम्मान गरिएको हो ।
यसैगरी संस्थाले ज्येष्ठ नागरिकहरु मुक्तिप्रसाद पराजुली, अजुर्न भेटवाल, बासु थापा, रामबहादुर गुम्बी, कान्छिमाया डिम्डुङ, बालकुमारी थिङलगायतलाई सम्मान गरिएको हो ।
यसैगरी एससीसी परिक्षामा उत्कृष्ट हुने छात्राहरु रोनिशा अधिकारी र समिक्षा थापा, पत्रकारहरु सरिता दाहाल र सुरेश श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । यसै यस टोल विकासमा रहेर विभिन्न खेलमा उत्कृष्ट भएका खेलाडीहरुलाई पनि सम्मान गरिएको आमा समूहको निवर्तमान अध्यक्ष सावित्री अधिकारीले बताइन् ।
अधिकारीलाई पुन नेतृत्वको जिम्मेवारी, आमा समूहमा दाहाल
शनिबार भएको साधारण सभा तथा अधिवेशनले टोल विकास संस्थाको अध्यक्षको जिम्मेवारी पुनः राजु अधिकारी (यात्री) लाइ नै दिएको छ ।
अधिकारी चौथो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत भएका हुन् । संस्थाको उपाध्यक्षमा अर्जुन अर्याल, सचिवमा रोजिता रिमाल, कोषाध्यक्षमा गणेश पराजुली, सहसचिवमा रामप्रसाद देवकोटा चयन भएका छन् । । यस्तै सदस्यमा बालकुमारी थापा, रामप्रसाद पौडेल, हुमप्रसाद अधिकारी, सपना स्याङ्बो र लेखनाथ पौडेल चयन भएका छन् ।
यसैगरी किरणचोक आमा समूहको नयाँ नेतृत्वमा उर्मिला दाहाल अर्याल चयन भएकी छिन् । आमा समूहको उपाध्यक्षमा सिर्जना कार्की पौडेल, सचिवमा लक्ष्मी न्यौपाने, कोषाध्यक्षमा सीता चापागाई र सहसचिवमा सावित्री सापकोटा चयन भएका छन् ।
आमा समूहको सदस्यमा सन्तु सिग्देल, मुना रिमाल, सुदिरा पौडेल, सीता खड्का, पार्वती रिमाल र सुकुमाय थोकर चयन भएका छन् । टोल विकास संस्था र आमा समूहको पदाधिकारीहरुको कार्यकाल आगामी २ वर्ष रहने छ ।

