मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक शैक्षिक हडतालमा उत्रिएका छन् । प्रतिष्ठानमा कार्यरत प्राध्यापकले तलब र भत्ताबापतको रकम नपाएको जनाउँदै हडतालमा उत्रिएपछि १५ दिनदेखि पठनपाठन प्रभावित भएको हो ।
प्रतिष्ठानमा गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प रहेकाे प्राध्यापक कल्याणकारी समिति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले बताए । प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन् ।
प्राध्यापक कल्याणकारी समिति अध्यक्ष सापकोटाले प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले विगत चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम नपाए पछि हडतालमा उत्रिएकाे बताए । ।
चालु आर्थिक वर्षको पहिलो महिना (साउन)को तलब सुविधाबापतको रकम पनि सङ्घर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनले बताए । तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानबाट मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिँदै आएको जनाइएको छ ।
प्राध्यापक कल्याणकारी समितिले बिहीबार सात बुँदे विज्ञप्ति जारी गरी नियम अनुसार पाउनुपर्ने तलब भत्ता तथा सेवा सुविधा समयमै उपलब्ध गराउनुपर्ने प्रतिष्ठान तथा शिक्षकहरुको स्थायित्वका लागि सेवा आयोग गठन गर्नुपर्ने लगायतका माग गरेका छन् ।
बिहीबार आन्दोलनरत प्राध्यापक र प्रतिष्ठानका कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलबीच भएको छलफल विना निश्कर्ष सकिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले भने बार्ता सहमति नजिक पुगेको बताए । ‘प्रतिष्ठानले समस्या समाधानको लागि सम्बन्धित निकायहरुसँग निरन्तर प्रयत्न गरिरहेको छ । टुंगिने अवस्थामा पुगेको छ’, उनले भने । चिकित्सा शिक्षा आयोगको नियमानुसार स्वास्थ्य मन्त्रालयबाट भर्ना भएका विद्यार्थीको छात्रवृत्तिवापतको ७५ प्रतिशत रकम नपाउँदा प्राध्यापकलाई तलब भत्ता दिन नसकेको उनले जानकारी दिए ।
प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा चिकित्सा शिक्षा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गराइरहेको छ । प्राध्यापक कल्याणकारी समिति विभिन्न ७ बुदे माग राखेर हडतालमा उत्रिए पछि पठनपाठन प्रभावित भएकाे हाे ।


