मकवानपुर । सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडामा ४२ वर्ष शिक्षणपछि अवकाश प्राप्त शिक्षक शम्भु घर्तीलाई बिद्यालय परिवारले बिदाइ गरेको छ । विद्यालयमा शुक्रबार कार्यक्रम गरि विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिले बिदाई गरेको हो ।
अनिवार्य अवकाश प्राप्त शिक्षक घर्तीले आफ्नो शिक्षणकाल अत्यन्तै स्मरणीय रहेको बताए । सिद्धार्थ माविमा अध्ययन गरि उत्कृष्ट भएका पूर्व विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । बिद्यालयका पुर्व विद्यार्थी सर्वज्ञ रत्न खतिवडा, स्नेहा प्रधान र शान्ति थिङलाई सम्मान गरिएको हाे ।
त्रिविवि नेपाल चिकित्सा शास्त्र सङ्काय अन्तर्गत एमबिबिएस तर्फ पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल पूर्व विद्यार्थी खतिवडा, बीएससी नर्सिङ तर्फ पूर्ण छात्रवृत्ति प्राप्त प्रधान र बीएससी कृषि तर्फ पूर्ण छात्रवृत्ति प्राप्त थिङलाई सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले बताए ।
कार्यक्रम हेटौंडा उपमहानगर पालिका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता तथा विव्यस अध्यक्ष श्री बलराम घिमिरेको अध्यक्षता भएको थियो । कार्यक्रममा वडा सदस्य ईन्द्र रिजाल, विव्यस सदस्य रामचन्द्र बर्तौला, सरिता दाहाल, शिक्षक अभिभावक संघ सदस्य गणेश हुमागाईलगायत शिक्षक ,कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

