मकवानपुर । नेपालीहरुकाे दोस्रो महान पर्व तिहार अन्तर्गत आज शनिबार कागको पूजा गरी यस बर्ष तिहारकाे सुरूवात भएकाे छ । यमदूत मानिने कागलाई भोजन गराइ कागप्रति श्रद्धा प्रकट गरिँदै आएकाे छ । यमराजले यसै दिनदेखि मर्त्यलोकमा पाँचदिनसम्म विचरण गर्न आएका हुन्छन् भन्ने जनविश्वासमा यो पाँचदिनलाई यमपञ्चक भन्ने गरिन्छ ।
तिहार हिन्दुहहरुको एक विशेष चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएर कात्तिक शुक्ल पक्षको द्धितीया तिथिको भाइटिकासम्म पाँच दिन मनाइन्छ । यो पर्व पाँच दिन सम्म मनाइने भएकोले यस चाडलाई विशेष रुपमा हेरिन्छ । हिन्दु धर्मालम्बीहरुले यस पर्वलाई दिपावली गरेर धुमधामसँग मनाउँछन् ।
यमराजको दूतको रुपमा लिइने कागलाई काग तिहारकाे दिन मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ । काग तिहारकाे दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजन गरेमा पितृले सोझै पाउँछन् भनिन्छ । अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । कागलाई चतुर पन्छीका रुपमा लिइन्छ । फोहर कसिङ्गर र सिनुसमेत खाने भएकाले वातावरण स्वच्छ राख्न कागले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
यसैगरी धनवन्तरि जयन्ती आजै परेको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती काग तिहारकै दिन मनाउने गरिन्छ । यो दिन आरोग्य दिवस पनि परेकाले आयुर्वेद क्षेत्रका सङ्घसंस्था उद्योग पसललगायतले धन्वन्तरीको पूजा अर्चना गरेर आरोग्य दिवस मनाउँछन् ।
आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको जयन्ती आज नेपालभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय अरोग्य दिवससमेत मनाइँदै छ । कार्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता भगवान् धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
सत्य युगमा समुद्र मन्थन गर्दा अमृतको घडासहित कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन भगवान् धन्वन्तरीको प्रकट भएको थियो । धन्वन्तरीलाई भगवान् विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ । आयुर्वेदको ज्ञान सर्वप्रथम आत्रेय ऋषिले लिएको कथन रहेको छ । एक लाख श्लोक र एक हजार अध्याय भएको ब्रह्मसंहिताको ज्ञान आत्रेय ऋषिले लिएका थिए । यही संहितालाई पछि आठ भागमा विभाजन गरेरियो, जसलाई अष्टाङ्ग आयुर्वेद भनिन्छ ।

यसरी सुरु भयो तिहार मनाउँने प्रचलन
पौराणिक कथा अनुसार सुर्यको छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्विकार गरी बहिनीको घरमा गई रमाइलो गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यसरी यमुनाको घरमा बस्दा यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भनेपछि उनले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाई दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाईको आयु, कीर्ति सदा बृद्धि होस्’ भन्ने वरदान मागेकी थिइन् ।
यमराजले पनि ‘तथास्तु’ भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले पुजा गर्ने गराउनेहरुको सधै उन्नती हुने तथा कीर्ति पनि फिँजिने वर दिई बहिनीसँग बिदा भई गएका थिए । त्यस समयबाट यो पर्व मानिदै आएको छ । तिहारले पशुपक्षी तथा मानवबीचको प्रगाढ सम्बन्धको चित्रित गर्छ भने अर्कोतिर दाजुभाई तथा दिदी बहिनीबीचको आत्मीय र पवित्र स्नेर्ह वं सम्बन्धलाई पनि उजागर गर्छ ।
तिहारकाे पाँच दिनमा साँझमा घरको मुलढोकामा यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वासले घर–घरमा बत्ती बालेर दिपावली गर्ने गर्छन् ।जुन घरमा यसरी दिपावली हुन्छ त्यसघरमा कहिल्यै अपमृत्यु र अल्पमृत्यु हुँदैन भन्ने मान्यता चलिआएको छ । यमपञ्चकमा काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाई पुजा गरिन्छ । तिहार पिङ खेलेर, देउसीभैलो खेलेर र दीपावली गरी मिष्ठान्न भोजन गरेर रमाइलो गरी मनाइन्छ ।
